घाटबाट महिलाको शव नियन्त्रण

0
128

विराटनगर, २ माघ । जलाउन लागेको अवस्थामा प्रहरीले विराटनगरस्थित सिंघीया खोलको घाटबाट एक महिलाको शव आज नियन्त्रणमा लिएको छ । घाँटीमा शंकास्पद डाम देखिएपछि विराटनगर महानगरपालिका–८ बलुवाइकी २८ वर्षीया प्रेमदेवी साहको शव नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो । उहाँकाअनुसार जलाउनका लागि घाटमा पुर्याएर चिता समेत बनाइसकेपछि घटना शंकास्पद रहेको जानकारी आएको थियो । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ । प्रेमदेवीको मृत्यु भएको भनेर बिहान साढे ५ बजे उनका माइती पक्षलाई खबर पुगेको थियो । दाजु राजु साहले आएर बहिनीको घाँटीमा हेर्दा भर्खरकै डाम देखिएपछि घटना शंकास्पद लागेर प्रहरीलाई खवर गरिएको बताउनु भयो । उहाँकाअनुसार बहिनी केही समयदेखि बिरामी थिइन् । ‘मानसिक बिरामी भएका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित माइतीमा लगेर उपचार गराएर घर पठाइएको थियो,’ राजुले भन्नु भयो, ‘एक्कासि मृत्यु भयो भन्ने खवर आयो ।’ शव नियन्त्रणमा लिन वडा प्रहरी कार्यालय हाटखोलाबाट सइ मनोज अधिकारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्सपेक्टर रामबहादुर ढकाल नेत्रृत्वको अलग–अलग टोली घाटमा पुगेको थियो । एसपी अधिकारीले घटनास्थल मुचुल्का तयार पारेर शव नियन्त्रणमा लिएपछि पोस्टमार्टमका लागि ल्याइएको बताउनु भयो । ‘घटना अलि शंकास्पद देखिएपछि शवलाई नियन्त्रणमा लिइएको हो,’ उहाँले भन्नु भयो, ‘सबै कोणबाट अनुसन्धान गर्ने काम भइरहेको छ ।’ प्रहरीले प्रेमदेवीका श्रीमान गोविन्द साहलाई पनि नियन्त्रणमा लिएको छ । गोविन्दसँग उनको १२ वर्ष अघि मागी विवाह भएको हो । उनीहरुका १० र ८ वर्षका दुई छोरा छन् । गोविन्दले भने श्रीमती केही समयदेखि मानसिक बिरामी रहेको र त्यही बिरामका कारण मृत्यु भएको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here