घिनाघाट–विराटचोक सडक शिलान्यास

0
159
????????????????????????????????????

विराटनगर, २३ भदौ । विराटनगर महानगरको घिनाघाटदेखि सुन्दरहरैंचाको विराटचोकसम्मको २२.७ किलोमिटर विराटचोक–घिनाघाट सडक अब चार लेनको हुने भएको छ । प्रदेश १ सरकारले आफ्नो पहिलो गौरवको आयोजनाका रुपमा यस सडकलाई चार लेनको बनाउन काम थालेको हो । मुख्यमन्त्री शेरधन राईले आज ग्रामथान गाउँपालिकाको नेताचोकमा एक कार्यक्रमका बीच सडकको शिलान्यास गर्नु भयो । सडकको अनुमानित लागत एक अर्ब ४० करोड छ । तीन प्याकेजमा यसको निर्माण सम्पन्न गर्ने तयारी छ । दुई प्याकेजको ठेक्का सम्झौता गत असार २९ गते नै भएको थियो । चार लेन सडक निर्माणको जिम्मा श्रेष्ठ निर्माण कम्पनी र एपेक्स रमण निर्माण सेवाले पाएका छन् । निर्माण कम्पनीले २०७८ असार मसान्त भित्रमा निर्माण पूरा गरेर प्रदेश सरकारलाई योजना हस्तान्तरण गर्नु पर्ने पूर्वाधार विकास कार्यालयका प्रमुख सुशील श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अहिले निर्माण सामग्री गिट्टी र बालुवा उत्खनन्मा रोक लगाइएका कारण असोज १ गतेबाट कामले गति लिने छ । एक अर्ब ६० करोडको टेण्डर आब्हान गरिएकोमा एक अर्ब ४० करोडको ठेक्का स्वीकृत भएपछि सडकको शिलान्यास भएको हो । प्रमुख श्रेष्ठका अनुसार सडकको केन्द्रबाट दुवैतिर ३५÷३५ फिट बढाएर विस्तारको काम हुने छ । सडक शिलान्यास गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले गौरवका आयोजनाको काम सुरु गरेको बताउनु भयो । ‘यो सडक प्रदेशकै नमुना बन्ने छ,’ उहाँले भन्नु भयो, ‘प्रदेश सरकारले नयाँ सोंचका साथ फोर लेन सडक बनाउनु पर्छ भनेर शिलान्यास गरेको हो ।’ संकृण र साँघुरो सोंच त्यागेर विकास निर्माणको काममा अघि बढ्नु पर्ने बेला आएको राईको भनाइ छ । यो सडक चार लेनको हुँदा मोरङका दुई स्थानीय तहलाई मात्रै नभइकन झापा, इलाम, पाँचथर र ताप्लेजुङका बासिन्दासम्मलाई सुविधा पुग्ने राईको भनाइ छ । प्रदेशको नमुना सडकको रुपमा यो आयोजना रहेको जानकारी दिँदै उहाँले त्यसको लागि गुणस्तर र निर्धारित समयका सवालमा कुनै पनि सम्झौता गर्न नसकिने स्पष्ट पार्नु भयो । मुख्यमन्त्री राईले सडक निर्माणमा कुनै प्रकारको लापरबाही भएमा त्यसको परिणाम हेक्का राख्न ठेकेदार कम्पनीलाई चेतावनी समेत दिनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here