चकलाबन्दी खेती गरी उत्पादन बढाउनुको विकल्प छैनः प्रम

0
88

विराटनगर, ३ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनबमोजिमबाहेकका कुनै पनि काम गर्न सरकारले छुट नदिने बताउनुभएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आज बिराटनगरमा आयोजित फलफूल तथा तरकारी थोक बजार उद्घाटन गर्दै उहाँले चन्दाका नाममा जनतालाई धम्काउने र त्रास देखाउने गतिविधि लोकतन्त्रमा चल्दैन भन्नुभयो । प्रधानमन्त्री ओलीले बजारको साँचो प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गर्नुभयो भने जग्गादाता जनप्रिय मावि, कटहरी गाउँपालिका अध्यक्ष र निर्माण कम्पनीलाई सम्मान गर्नुभयो । प्रधानमन्त्री ओलीले कृषिप्रधान मुलुकमा राष्ट्रिय आयमा देखिएको योगदानले कृषिप्रधान देश भन्न सक्ने अवस्था नरहेको बताउँदै कृषि उत्पादन र उत्पादकत्व बढाउन आग्रह गर्नुभयो । उहाँले यस किसिमको बजार अन्य जिल्लामा पनि विस्तार गरिने तथा कृषि पेशालाई मर्यादित बनाउन र युवालाई यसमा समाहित गर्नका लागि कृषिको आधुनिकीकरण र यान्त्रिकीकरण गर्न सरकार लागिपरेको जानकारी दिनुभयो । “जमीन खण्डीकरणको समस्या समाधान गर्न र उत्पादन बढाउन सरकारले चकलाबन्दी खेती गर्न योजना बनाइरहेको छ, सहकारी माध्यमबाट चकलाबन्दी खेती गरी उत्पादन बढाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो । स्थानीय जनप्रिय मावि कटहरीले चार बिघा र कटहरी गाविसले १८ कठ्ठा दुई धुर उपलब्ध गराएको सो जग्गामा निर्माण भएको अत्याधुनिक कृषि थोक बजारमा तरकारी ४५ हजार मेट्रिकटन र फलफूल १० हजार मेट्रिकटन अट्ने क्षमता छ । नेपाल सरकार र विश्व बैँकको अनुदानमा रु १५ करोड ४८ लाख ४९ हजार लागतमा भूमि कन्सट्रक्सन प्रालिले बजार निर्माण गरेको हो । बजारले सुनसरी, मोरङ, झापा र धनकुटाका कृषकलाई लाभान्वित गराउने अपेक्षा गरिएको छ । बजारमा थोक बिक्रेताका लागि ४० र खुद्रा बिक्रेताका लागि ३५ कक्ष बनाइएको छ । बजारभित्र एक प्रशासनिक भवन र बैंक पनि रहनेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here