Tune to BFM 91.2|Biratnagar

चार जना नर्सलाई कोरोना संक्रमण पुष्टि

विराटनगर, १२ साउन । विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा कार्यरत चार जना महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नर्सिङ होममा आवद्ध रहेर संक्रमित हुनेको संख्या पाँच पुगेको छ । बरिष्ठ चिकित्सकमा गत मंगलबार कोरोना संक्रमण देखिएपछि अस्पतालमा कार्यरत अरु कर्मचारी र स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षण गरिएको थियो ।

स्वाब संकलन गरेर परीक्षण गरिएका ५८ जना मध्ये चार जनाको रिपोर्ट पोजेटिभ आएको हो । ५४ जनाको रिपोर्ट नेगेटिभ आएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनु भयो ।

आज पोजेटिभ रिपोर्ट आएकाहरु क्रमशः २१, ३०, ३१ र ५६ वर्षीया स्टाफ नर्स रहेका छन् । अस्पतालका कर्मचारीहरुले प्रदेश सरकार, स्थानीय सरकारलाई संक्रमण देखिएको स्थानमा कार्यरत सबै कर्मचारी तथा स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्नु पर्ने माग गरेका छन् ।

कर्मचारी र स्वास्थ्यकर्मी गरेर अस्पतालमा लगभग तीन सयको हाराहारीमा कार्यरत रहेको जनाइएको छ । अस्पताल बिहीबारबाट सिल गरिएको छ । हाल पोजेटिभ देखिएहरुसँग अरु पनि कर्मचारी र स्वास्थ्यकर्मीको सम्पर्क भएको हुन सक्ने अनुमान महानगरले गरेको छ ।

सैबिच कोशी अस्पताल विराटनगरले संक्रमित नर्सले काम गरेको पोष्ट नेटल वार्ड सिल गरेको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले चिकित्सक र बिरामीको कोराना जाँचका लागि वार्ड बन्द गरिएको बताउनुभयो । ‘वार्ड सिल गरेर स्वाब संकलन गर्दैछौं,’ उहाले भन्नुभयो ‘आजै रिपोर्ट आउनेगरी परीक्षण गर्छाैं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button