चित्तल मारेर मासु बाँड्न खोज्दै गर्दा पक्राउ

0
125

पुस,५ विराटनगर, । मोरङको पथरीशनिश्चरे नगरपालिका १ को मनकामना सामुदायिक वनबाट चित्तल मार्दै गर्दा पथरीशनिश्चरे १ का ३९ वर्षीय प्रकाश भनिने रत्नबहादुर धिमाललाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ । चित्तल मार्दै गर्दा पक्राउ परेका धिमालका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले चित्तल मार्न प्रयोग गरिएको एउटा भरुवा बन्दुक बरामद गरेको छ । बन्दुकसंगै त्यसमा प्रयोग हुने छर्रा, बारुद, विजुलीको तारबाट बनाइएको पासो, खुकुरी, कपडा समेतका सामान बरामद गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताउनु भयो । पक्राउ परेका धिमाल विरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गतको मुद्धा चलाइ सकेपछि अर्को कारवाहीका लागि धिमाललाई वन कार्यालयको जिम्मा लगाइने बजगाईको भनाइ छ । उनका अनुसार सामुदायिक वनमा भेला भएकाहरुले चित्तल मारिरहेका छन् भन्ने गोप्य सूचना आएपछि दिउँसो साढे २ बजे घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरीलाई देख्न साथ अन्य व्यक्ति भने फरार भएको र धिमाल पनि भाग्न खोज्दै गर्दा घेरा हालेर नियन्त्रणमा लिइएको प्रनि बजगाईको भनाइ छ । फरार रहेकाहरुको पहिचान र खोजी गर्ने कार्य भइरहेको प्रहरीको भनाइ छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चित्तल मार्ने धन्दामा वन्यु जन्तुको चोरी सिकारी गर्ने समूहको संलग्नता रहेको खुलेको छ । बन्दुक हानेर मारिएको चित्तलको वायाँ पातोमा गहिरो चोट लागेको छ । चित्तल अन्दाजी दुई वर्ष जतिको र भाले प्रजातिको रहेको प्रहरीले जनाएको छ । घटनास्थल पथरी बजारबाट लगभग साढे किलोमिटर टाढा छ । चित्तल मारेर आगोमा पोलिसकेपछि मासु भाग लगाउने तयारी गर्दै गर्दा प्रहरी पुगेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here