चिनियाँ राष्ट्रपति सी जिनपिङ २५ गते नेपाल आउने

0
100

काठमाडौं,  २२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति निकाली चिनियाँ राष्ट्रपति सि आगामी शनिबार काठमाडौं आउने जानकारी दिएको हो ।भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्नुहुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सिले २५ र २६ गते नेपाल भ्रमण गर्ने परराष्ट्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ । राष्ट्रपति सीले नेपालका वरिष्ठ नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ ।करिब २२ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालीले तयारी तीब्र बनाएको छ । काठमाडौंको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् । उनलाई सरकारले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने छ ।यो तहको सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ । यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुन्छन् भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन् । सीले चीनबाटै पनि सुरक्षाकर्मी ल्याउने बताइएको छ ।राष्ट्रपति सीको नेपाल र भारत भ्रमणको मिति र कार्यक्रमबारे चिनियाँ विदेश मन्त्रालय, भारतीय विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले एकै समयमा सार्वजनिक गरेको हो ।चिनियाँ विदेश मन्त्रालयले आज पत्रकार सम्मेलन गरी सीको भ्रमणबारे औपचारीक जानकारी दिएको थियो । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुव चुनिङले राष्ट्रपति सीले अक्टोम्बर ११ देखि १३ सम्म भारत र नेपालको भ्रमण गर्ने जानकारी दिनु भएको हो । भारतीय विदेश मन्त्रालयले पनि पत्रकार सम्मेलन गरी सीको भ्रमणको बारेमा जानकारी गराएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here