Tune to BFM 91.2|Biratnagar

चेतना संरक्षण प्रतिष्ठानद्वारा आधा दर्जन व्यक्तिहरु पुरस्कृत

विराटनगर २४ माघ । नेपाली भाषा, साहित्य, कला, संस्कृतिको विकासमा समर्पित चेतना संरक्षण प्रतिष्ठान विराटनगरले विभिन्न क्षेत्रमा योगदान पुर्याउने आधा दर्जन व्यक्तिहरुलाई विशेष समारोहका बीच पुरस्कृत गरेको छ ।

आफ्नो १६ औं वार्षिकोत्सवका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा साहित्य, पत्रकारिता, कला, संस्कृतिलगायतका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई प्रतिष्ठानले पुरस्कृत गरेको हो । समाजसेवी देवेनरा परिवारद्वारा आफ्ना मातापिताको नाममा स्थापित ५१ हजार नगद राशिको बालकिशन–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार संस्कृतिविद् प्रा.डा. वीणा पौड्याललाई समर्पण गरिएको छ ।

त्यस्तै समारोहमा समाजसेवी दिनेश सुवेदीद्वारा आफ्ना भाइको नाममा स्थापित ५१ हजार राशिको ‘नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार’ साहित्यिक पत्रकार मोहन दुवाल, समाजसेवी हरिभक्त सिटौलाद्वारा आफ्ना बुवा–आमाको नाममा स्थापित १ लाख १ हजार राशिको ‘धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार’ साहित्यकार दामोदर पुडासैनी पुरस्कृत हुनु भएको छ ।

त्यस्तै वरिष्ठ कलाकार माया पौडेललाई साहित्यकार गङ्गा सुवेदीद्वारा आफ्ना आमाबुवाको नाममा स्थापित ५१ हजार राशिको ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’ र बालप्रतिभा प्रिन्सा रेग्मीलाई साहित्यकार केदार सत्याल र श्रीमती मञ्जु सत्यालद्वारा स्थापित ५१ हजार राशिको ‘केदार–मञ्जु सत्याल बाल चेतना पुरस्कार समर्पण गरिएको थियो । सबै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशका प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ गंगा सुवेदी र पुरस्कारका संस्थापकहरुले संयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।

समाजसेवी दीनबन्धु गोयलले आफ्ना दाजुका नाममा स्थापित ‘ओमप्रकाश गोयल समाजसेवी चेतना पुरस्कार भने पुरस्कृत व्यक्ति मदन राई विशेष कारणले समारोहमा उपस्थिति नभएका कारण समर्पण गरिएन । राईलाई अर्को वर्षको कार्यक्रममा समर्पण गरिने आयोजकले जनाएको छ । समारोहमा प्रतिष्ठानले वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई मानर्थ सदस्य र साहित्यकार कविता चापागाईंलाई विशिष्ट सदस्यबाट विभूषित गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख अधिकारीले चेतना प्रतिष्ठानले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पुरस्कृत गरेर प्रशंसनीय कार्य गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button