छोराले बिहे गर्न नमान्दा कुटिएका व्यक्तिको मृत्यु भएपछि तनाव

0
438

विराटनगर, २७ असार । छोराको बिहे गर्न नमान्दा २८ दिन अघि कुटिएका एक व्यक्तिको मृत्यु भएपछि आज विराटनगरको कोसी अस्पताल बाहिरको अवस्था तनावग्रस्त बनेको छ । अस्पताल प्रवेश गर्ने ठाउँमै सडक अवरुद्ध पार्दै शव राखेर आफन्त प्रदर्शनमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको हो । बुवाले हेरेको केटीसँग छोराले बिहे गर्न नमान्दा जनप्रतिनिधिसमेतको उपस्थितिमा विराटनगर–१४ जतुवाका ५७ वर्षीय सेमानन्द यादव गत जेठ ३२ गते कुटिएका थिए । जसरी पनि छोरालाई मनाउनु पर्ने दबाब जनप्रतिनिधिसहितले दिएको र आफूले मनाउन नसक्ने जानकारी गराएपछि उनीमाथि कुटपिट भएको प्रहरीको भनाइ छ । यस विषयमा विराटनगर–१४ का वडा अध्यक्ष बलदेव यादवको घरमा छलफल राखिएको थियो । छलफलकै क्रममा गत जेठ ३२ गते सेमानन्दमाथि कुटपिट भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका उनको हिजो राति उपचारका क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको थियो । किटानी जाहेरी दिए पनि घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्तले शव सडकमै राखेर प्रदर्शन गरेका हुन् । मृतकका सालो धिरेन्द्र यादवले कुटपिटम संलग्न जनप्रतिनिधि लगायत अन्य व्यक्तिहरुले खुलेआम हिंडडुल गरे पनि पक्राउ नगरिएको बताउनु भयो । पीडित परिवारको तर्फबाट कुटपिट गर्ने विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउन माग गर्दै किटानी जाहेरी दिएको उहाँको भनाइ छ । प्रहरीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही अघि बढाउने प्रतिवद्धता जनाएपछि पीडित पक्ष शव बुझन तयार भएको थियो । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएको छ । पीडित पक्षबाट घटनामा संलग्न रहेको भन्दै विराटनगर–१४ का वडा अध्यक्ष बलदेव यादव, उनका छोरा रविन यादव, विराटनगर–१८ का वडा अध्यक्ष सञ्जय साह, विराटनगर–१८ का भोला यादव, किरानी भनिने दिनेश यादव, विराटनगर–१४ का सम्भु भनिने विजय यादव र दिपेश यादव विरुद्ध कर्तव्य ज्यान मुद्दा चलान गर्दै आज किटानी जाहेरी परेको छ । सेमानन्दका छोराले बिहे अस्वीकार गरेको केटी पक्ष वडा अध्यक्ष बलदेवको आफन्त भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुले पीडित र पीडक पक्ष दुवै मिलेर घाइतेको उपचार गराउने भन्ने सहमति गरेका कारण घटनामा संलग्नलाई यस अघि पक्राउ नगरिएको बताउनु भयो । उहाँले घटनालाई लिएर यस अघि ज्यान मार्ने उद्योगमा जाहेरी परेको भए पनि आज भने कर्तव्य ज्यान शीर्षकमा जाहेरी परेको बताउनु भयो । खिउजुले घटनामा संलग्न फरार रहेका कारण सबै जनालाई पक्राउ गर्नका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको जानकारी दिनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here