Tune to BFM 91.2|Biratnagar

छोराहरुले नै हत्या गरेर शव घर भित्र पुरेको खुलासा

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका–१४ झटियाईका ५५ वर्षीय सत्यराम चौहानको हत्या उनकै छोराहरुले गरेर शव घर भित्रै पुरेको खुलेको छ ।

सत्यरामको हत्यामा जेठो छोरो २९ वर्षीय रोहित र माइलो २६ वर्षीय नागेन्द्र चौहानको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुई दाजु–भाई मिलेर सत्यरामको हत्या गत शनिबार राति गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

दुवै जना मिलेर फरुवाले हानेर हत्या गरेपछि घर भित्रै खाल्डो खनेर शव तन्नाले बेरेर गाडिएको प्रहरीको भनाइ छ । प्रहरीले घर भित्रै पुरेको शव हिजो साँझ उत्खनन् गरेर पोस्टमार्टमका लागि कोसी अस्पताल पुर्याएको छ ।

सत्यराम जेठो छोरो रोहितसँग आफ्नै घरमा बस्थे । तीन छोरा मध्ये माइलो छोरो नागेन्द्र बिहे गरेर श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे । कान्छोे छोरा सोमकुमार तीन वर्षदेखि वेपत्ता छन् । प्रहरीका अनुसार बाबुले जेठो छोरा रोहितसँग पैसा मागेका थिए ।

तर ज्यालामजदुरी गर्ने रोहितले आफूसँग पैसा नभएको बताएपछि बाबुले घरबाट निकालिदिने चेतावनी दिएपछि बाबु छोराबीचमा विवाद सुरु भएको प्रहरीको भनाइ छ । त्यतिबेला माइलो छोरो नागेन्द्र पनि बुवा र दाजु बस्ने घरमा पुगेका थिए ।

विवाद बढ्दै गएपछि रोहितले नजिकै रहेको फरुवाले सुरुमा बुवाको टाउकोमा प्रहार गरेकार र त्यसपछि दुवै दाजुभाई मिलेर सत्यरामको हत्या गरेको प्रहरीको भनाइ छ । बुवाको शव बाहिर निकालेमा घटनाका बारेमा गाउँलेले थाहा पाउने भएपछि आफूहरुले घर भित्रै खाल्डो खनेर गाडिदिएको दुवै छोराले प्रहरीलाई बताएका छन् ।

बाबुको हत्या गरिएको घटनामा संलग्न रोहित र नागेन्द्र दुवै जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी राईले बताउनु भयो । उहाँले दुवै जना विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button