Tune to BFM 91.2|Biratnagar

जंगलमा मृत्त भेटिएकी युवतीको पहिचान भएन

विराटनगर, ८ साउन । मोरङको बेलबारी नगरपालिका–१० स्थित सृजना सामुदायिक वनमा मृत्त भेटिएकी युवतीको पहिचान हुन सकेको छैन ।

अन्दाजी २०/२२ वर्षीया युवती मंगलबारसाँझ मृत्त भेटिएकी थिइन् । सखुवाको रुखमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिए पनि युवतीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट एउटा ‘नोट’ पनि बरामद गरेको छ ।

युवतीले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेको हुन सक्ने आशंकामा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । ‘नोट’मा शव लगेर आमालाई जिम्मा दिनू भनेर लेखिएको छ । ‘नोट’मा आफ्नो घर विराटनगरको राजवंशी चौकस्थित भीम पार्कमा भएको उल्लेख गरिएको छ ।

त्यसका आधारमा उक्त स्थानमा सोधीखोजी गरे पनि केही पत्ता लाग्न नसक्दा अनुसन्धानका बाँकी प्रक्रिया अघि बढाउन प्रहरीलाई मुस्किल परिरहेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले अहिलेसम्म कोही आफन्त प्रहरीको सम्पर्कमा नआएको बताउनु भयो ।

कोही पनि सम्पर्कमा नआउँदा युवतीका बारेमा केही पनि कुरा पत्ता लाग्न नसकेको र शवको सनाखत हुन नसकेको उहाँको भनाइ छ ।

प्रहरीले शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button