Tune to BFM 91.2|Biratnagar

जनताको आकांक्षामा तुसारापात भयो : मुख्यमन्त्री

विराटनगर, ३ फागुन । प्रदेश १ सरकारले आज आफ्नो तेस्रो वार्षिक उत्सव मनाएको छ । प्रदेश राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष समारोहको आयोजना गर्दै सरकारले वार्षिक उत्सव मनाएको हो । त्यस अवसरमा सरकारले तीन वर्षको अवधिमा गरेका काम कारबाहीको प्रगति विवरण पनि सार्वजनिक गरिएको छ ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन वर्षको अवधिमा सरकारले धेरै जनपक्षीय कामहरु गरेको फेहरिस्त प्रस्तुत गर्दै सरकारले महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउनु भयो । शून्यबाट सुरु भएको प्रदेश सरकारले आवश्यक संरचना निर्माण गरेर विभिन्न कामहरु गरिरहेको जानकारी उहाँले दिनु भयो । सुखी नेपाली, समृद्ध नेपाल नारा दिएर संघीय सरकार अघि बढे जसरी प्रदेश सरकारले पनि स्वच्छ, सुखी र समुन्नत प्रदेशको नारा तय गर्दै त्यसलाई अघि सारेर काम गरिरहेको राईको भनाइ छ ।

प्रदेश सरकार यो नारालाई दीर्घकालीन रुपमा स्थापित गरेर अघि बढ्ने प्रतिवद्धता पनि राईले जनाउनु भयो । उहाँले तीन वर्षको अवधिमा प्रदेशमा भएका विकास निर्माणदेखि लिएर सुशासनको कामलाई सरकारले छोटो अवधिमै प्राप्त गरेको महत्वपूर्ण उपलब्धीका रुपमा अर्थ लगाउनु भएको छ । संरचनादेखि लिएर अन्य विकास निर्माण तथा भौतिक पूर्वाधारका क्षेत्रमा सरकारले महत्वपूर्ण उपलब्धी हासिल गरेको उहाँले बताउनु भयो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणमा पनि सरकार सफल भएको राईको कथन छ । सक्रियताका साथ काम गरेर स्वास्थ्य संरचना, पूर्वाधार निर्माण, सिँचाई लगायतका क्षेत्रमा उल्लेख्य काम गर्दै सुखी नेपाली र समृद्ध नेपाल निर्माणको अभियानलाई टेवा पुग्ने गरी प्रदेश सरकार अघि बढिरहेको जिकिर राईले गर्नु भयो । प्रदेश सरकार मातहतका कार्यालयले राम्रो काम गरिरहेको उहाँको भनाइ छ । तीन वर्षको अवधिमा प्रदेश १ सरकारले एक सय १३ वटा विभिन्न कानुन पनि बनाएको छ । त्यस्तै जनतासँग मुख्यमन्त्री कार्यक्रम सुरु गरेको छ । प्रदेश लगानी प्राधिकरण बनाएको छ ।

विभिन्न प्रशंगलाई वेलीविस्तार लगाउँदै मुख्यमन्त्री राईले गरिबलाई राहत लगायतका महत्वपूर्ण कामहरु तीन वर्षको अवधिमा भएको दाबी गर्नुु भयो । स्थिर सरकार ढालेर मुलुकमा अस्थिरता निम्त्याउने तत्व सक्रिय बनेको उहाँको आरोप छ । सरकारले महत्वपूर्ण कामहरु गरिरहेका बेला समृद्ध नेपाल र सुखी नेपालीको नारा तथा जनताका सबै आकांक्षामा तुसारापात गर्दै एक्कासि सत्तारुढ दलबाटै दुईतिहाईको सरकार ढाल्ने खेल सुरु भएको राईको भनाइ छ । प्रदेश र सिंगो मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने काम भएकोभन्दै उहाँले चिन्ता व्यक्त गर्नु भयो । सत्तारुढ दलबाटै बहुमतको सरकार ढालेर राष्ट्रपति, प्रधानमन्त्री, प्रदेश प्रमुख र प्रदेशका मुख्यमन्त्रीलाई अपदस्थ गर्ने योजना अनुरुप राजनीतिका नाममा विगतजस्तै फोहोरी खेल सुरु गरिएको राईको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओली गरेको संसद विघटनको विषयमा उहाँले राजनीतिका नाममा फोहोरी खेल खेलेर स्थिर सरकार ढाल्दै मुलुकमा अस्थिरता निम्त्याउन खोजिएपछि र विगतजस्तै अस्थिर सरकार निर्माण गर्ने योजना बन्न थालेपछि मुलुक ताजा जनादेशका लागि निर्वाचनमा जानु परेको दाबी गर्नु भयाये । नेपाली जनता सामु फेरि एक पटक निर्वाचनमार्फत बलियो र स्थिर सरकार बनाउनुपर्ने अभिभारा एवं जिम्मेवारी आएको उहाँको भनाइ छ । राईले विशेष समय र परिस्थितका कारण मुलुक निर्वाचनमा जानु परेको उल्लेख गर्दै शान्ति, सुशासन, विकास र समृद्धिका लागि जनताले उत्कृष्ट ढंगबाट फैसला सुनाउने बेला आएको बताउनु भयो ।

आफ्नाविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावका सम्बन्धमा उनले प्रदेशमा पनि अस्थिरता सिर्जना गर्ने, अराजकता पैदा गर्ने, जनताको विश्वास र उत्साहमा तातो पानी खन्याउने काम भएको बताउनु भयो । राईले जनविरोधी अनेक हर्कतविरुद्ध सबै प्रदेशवासीलाई एक हुन आग्रह पनि गर्नु भएको छ । उहाँले दुईतिहाई सरकार चलिरहेको र सरकारले एकाएक उपलब्धी हासिल गर्दै गइरहेका बेला अचानक अविश्वासको प्रस्तावको सामान गर्नुपर्ने अवस्था आएकोभन्दै त्यसकाविरुद्ध एक हुन सबैमा अपिल गर्नु भएको हो । उहाँले संसदीय व्यवस्था र प्रचलित मूल्य मान्तता विपरित अविश्वासको प्रस्ताव आएको भन्दै त्यसमा उठेका कानुनी र वैधानिकता सम्बन्धी प्रश्नको चाँडै निरुपण गरेर समस्याको समाधान खोजिने पनि बताउनु भयो । मुख्यमन्त्री राईले जनताको विकास र समृद्धको चाहनामा, तुसारापात भएको दोहोर्याउँदै प्रदेश सरकारकाविरुद्धमा चालिएको कदम गलत भएको बताउनु भयो ।

अविश्वास प्रस्तावमार्फत संसदीय व्यवस्था र दलीय प्रणाली अन्तर्गत प्रचलित मूूल्य र मान्यता एवं विधिविधान विपरीत गलत अभ्यास तथा नजिर स्थापित गर्न खोजिएको राईको भनाइ छ । उहाँले यस्ता विषयको हेक्का राखेर उत्पन्न कानुनी जटिलता एवं वैधानिकता सम्बन्धी समस्याको चाँडै समाधान खोजिने जानकारी पनि दिनु भयो । प्रदेशको राजधानी सर्वसम्मत रुपमा तोकिएको उल्लेख गर्दै मुख्यमन्त्री राईले सरकारले प्रदेशको नामाकरण गर्न सकेन भनेर भन्नुको कुनै तुक नभएको स्पष्ट पार्नु भयो ।

उहाँले सबै दलको सहमतिमै नामाकरणको विषयलाई तत्कालका लागि थाँती राखिएको जानकारी पनि दिनु भयो । विभिन्न समस्याका कारण नामाकरणको विषयमा प्रवेश गर्न नपाएको बताउँदै राईले अब यस विषयको टुंगो चाँडै लगाउने प्रतिवद्धता पनि जनाउनु भयो । आफ्नो वार्षिक उत्सवका अवसरमा प्रदेश सरकारले तीन वर्षमा गरेका महत्वपूर्ण दुई सय ३२ वटा काम र अन्य प्रगति विवरणलाई समावेश गरेर प्रकासित गरेको गोजी पुस्तिका पनि सार्वजनिक गरेको छ ।

दाहाल–नेपाल समूहद्धारा बहिस्कार

यसैबीच सरकारले मनाएको तेस्रो वार्षिक उत्सव आन्दोलनरत पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले भने अघोषित रुपमा बहिस्कार गरेको छ । वर्षिक उत्सावका अवसरमा आयोजित कार्यक्रममा दाहाल–नेपाल समूहका सांसद तथा नेता कार्यकर्ता सहभागी भएनन् । वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी हुन उचित नठानेको दाहाल–नेपाल समूहका नेता एवं प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताउनु भयो ।

‘यो सरकारको वैधता सकिएको छ । त्यही भएर उसले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुको कुनै अर्थ छैन,’ उहाँले भन्नु भयो, ‘सबैसँग सल्लाह गरेरै सहभागी हुन आवश्यक नठानिएको हो ।’ कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि सहभागी भएन । सरकारले कांग्रेसलाई कार्यक्रममा सहभागी हुनका लागि निम्तो दिएको थियो । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले संसद (प्रतिनिधिसभा) विघटनविरुद्ध पार्टीले कार्यक्रम आयोजना गरेका कारण व्यस्तताले सहभागी हुन नपाएको बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा प्रदेश १ सरकार गठन भएको फागुन ३ गते तीन वर्ष पूरा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेसँगै सत्तारुढ दलमा विभाजन आएको छ । विभाजनपछि एउटा समूहको नेतृत्व ओलीले गरिरहनु भएको छ भने अर्को समूहको नेतृत्व दाहाल–नेपालले गरिरहनु भएको छ । प्रदेश १ सरकारको नेतृत्व ओली पक्षीय मुख्यमन्त्री शेरधन राईले गरिरहनु भएको छ । उहाँकाविरुद्ध दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव संसदमा दर्ता गराइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button