Tune to BFM 91.2|Biratnagar

जनप्रतिनिधिले तस्करी गरेको चिनी बरामद

विराटनगर, १९ फागुन । मोरङको रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधिनै तस्करीमा संलग्न रहेको पाइएको छ । रतुवामाई नगरपालिका–१ का वडा सदस्यमा निर्वाचित मोहम्मद सदिर मियाँ तस्करीमा संलग्न रहेको पाइएको हो ।

हिजो अपराहन्न ३ बजे रतुवामाई नगरपालिका–१० टाली भट्टास्थित घुम्ती नजिकै ट्याक्टर दुर्घटना भएपछि सिमावर्ती भारतीय बजारबाट अवैध रुपमा आयात गरिएको चिनी फेला परेको प्रहरीले जनाएको छ । यो घटनाले जनप्रतिनिधि तस्करीमा संलग्न रहेको खुलेको छ ।

रतुवामाई नगरपालिका १ सोनापुरबाट उर्लाबारीतर्फ जाँदै गरेको मे १ त ८७१६ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको बा २९ प ६८४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते भएपछि अत्तालिएका ट्याक्टर चालक चलिरहेको ट्याक्टरबाट हाम फालेर फरार भए ।

दक्षिणतर्फबाट ढुंगा बोकेर आउँदै गरेको अर्को मे १ त ६४६६ नम्बरको ट्याक्टरले समेत अनियन्त्रित भएर मोटरसाइकललाई पुनः ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार रतुवामाई नगरपालिका–६ का प्रकाश र खगेन्द्र भेटुवाल घाइते भएका छन । उनीहरु एउटै परिवारका दाजु भाई हुन् । घाइते दुवै जनाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

दुर्घटना पश्चात घटना स्थलमा पुगेको प्रहरीले चेकजाँच गर्दा मे १ त ८७१६ नम्बरको ट्याक्टरमा धानको बोराले छोपेर भारतबाट अवैध रुपमा ल्याइँदै गरेको २५ क्विन्टल चिनी प्रहरीले बरामद गर्यो । उक्त ट्याक्टर र चिनी वडा सदस्य मियाँको भएको खुलेको छ ।

घटनास्थलमा बरामद गरिएको चिनी धानको बोरा जस्तै देखिने गरी जुटको बोराभित्र राखेर उर्लाबारीतर्फ लगिँदै गरेकाले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझीले जानकारी दिनु भयो । ट्याक्टरबाट एक सय सात बोरा धानसहित बरामद भएको ५० बोरा चिनी सोमबार बिहान प्रहरीले सार्वजनिक गरेको छ ।

तस्करीमा ट्याक्टर, चिनी र धान आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ । स्थानीयका अनुसार सीमा क्षेत्रका व्यापारी समेत रहेका वडा सदस्य मियाँकै ट्याक्टर चिनी तस्करीमा प्रयोग भएको हो ।

स्थानीयले प्रहरीलाई झुक्याएर वडा सदस्य मियाँले भारतबाट विभिन्न वस्तु अवैध रुपमा नियमित नेपाल भित्राएर उर्लाबारी, पथरी, इटहरी, धरानलगायत पूर्वका विभिन्न स्थानमा पुर्याउँदै आएका छन् । ट्याक्टर प्रहरीले नियन्त्रणमा लिए लगत्तै वडा सदस्य मियाँ भने फरार भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button