Tune to BFM 91.2|Biratnagar

जनप्रतिनिधिसँग मोरङ कांग्रेसको छलफल

विराटनगर १२ फागुन । जनप्रतिनिधि आफ्नै ढंगले परिचालन हुन थालेको र पार्टीको निर्देशनसमेत नमान्ने गरेको गुनासोबीच आज मोरङ कांग्रेसले निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल चलाएको छ । पार्टीको टिकट पाएर पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष जितेका जनप्रतिनिधिको व्यवहार दुई वर्षमै फेरिएको भन्दै टिकाटिप्पणी हुने गरेको छ ।

तर, आज आयोजित छलफलमा भने पार्टी प्रतिनिधिले जनप्रतिनिधिलाई आफ्नो धरातल नभुल्न र पार्टीलाई वाईपास नगर्न सुझाएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित भई पालिकाहरुमा बागडोर सम्हालिरहेका जनप्रतिनिधि र पार्टीका प्रतिनिधिबीच विराटनगरमा घनीभूत छलफल आयोजना गरिएको हो । मोरङको निर्वाचन क्षेत्र नम्बर ५ का कांग्रेस क्षेत्रीय सभापति दिपिल पोखरेलले हिजो टिकट दिने पार्टीलाई नै वास्ता नगर्दा जनप्रतिनिधिसंग जनता र सिंगो पार्टीपंक्तिको गुनासो चुलिएको बताउनुभयो ।

नेपाली कांग्रेस विराटनगरका सचिव प्रकाश दाहालले निर्वाचित निकायको काम कारवाहीलाई अनुगमन गर्न पार्टीले छुटटै समयन्त्र बनाउनु पर्ने सुझाव दिनुभयो । नेपाली कांग्रेस विराटनगरका कार्यवाहक सभापति अरुणकुमार न्यौपानेले स्थानीय तहमा धेरैजसो जितेर जानेहरु युवा भएकोले उनीहरुले त्यहीअनुरुपको कार्यक्रम ल्याएर जनस्तरमा जानुपर्ने बताउनुभयो ।

उर्लाबारी नगरपालिकाका प्रमुख तथा मोरङ क्षेत्र नम्बर १ का कांग्रेस क्षेत्रीय सभापति खड्ग फागोले वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह आदि नेताहरुले बनाएको कांग्रेसको पात झरेर अब बोक्रामात्र रहेजस्तो देखिएको टिप्पणी गर्नुभयोे । बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले कांग्रेसबाट निर्वाचित बनेका ठाउँमा नेकपा सरकारले असहयोग गर्ने अधिकृत पठाउने गरेको गुनासो गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध प्रगाढ हुन निरन्तर छलफल जरुरी भएको सुनाउनुभयो । कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले विकासमा कुनै पनि कमजोरी नगर्न र जनताको भवनाको कदर गर्न पालिका प्रमुख तथा जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो ।

मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बूले पार्टी र जनप्रतिनिधिबीच सम्बन्ध टुटे जस्तो, केही अभाव भए जस्तो र समन्वय नभए जस्तो देखिएकोले नै कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button