Tune to BFM 91.2|Biratnagar

जातीय भेदभावविरुद्धको तीन महिने जागरण अभियान सुरु

विराटनगर, ७ चैत । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काको पहल, सक्रियता र नेतृत्वमा आजबाट जातीय भेदभाव र छुवाछुतविरुद्धको तीन महिने जागरण अभियान सुरु भएको छ । ५६ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको सन्दर्भ पारेर मोरङबाट अभियानको थालनी भएको हो । मोरङको बूढीगंगास्थित टंकीसिनवारीमा आयोजित घोषणा सभामार्फत प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अभियानको उद्घाटन एवं सुरुवात गर्नुभएको छ ।

अभियान प्रहरी र दलित अधिकारको वकालत एवं जातीय भेदभावविरुद्ध क्रियाशील रिडेफ नेपाल नामक संस्थाले संयुक्त रुपमा सञ्चालन गर्ने छन् । जातीय भेदभाव र छुवाछुतविरुद्ध बनेका ऐन कानुनको प्रभावकारी कार्यान्वयनका निम्ति अभियान फलदायी बन्ने अपेक्षा राखिएको रिडेफ नेपालका अध्यक्ष एवं अधिकारकर्मी उमेश विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार कानुन कार्यान्वायन गर्ने निकायलाई थप जिम्मेवार र जवाफदेही बनाउनका लागि अभियान केन्द्रीत हुने छ । छुवाछुतमुक्त मुलुक बनिसकेको नेपालमा जारी रहेको जातीय विभेद अन्त्य गर्नका लागि अभियान अन्तर्गत ग्रामीण भेगमा सामाजिक सचेतना फैल्याइने विश्वकर्माको भनाइ छ । उहाँले अभियान आगामी जेठ २१ गतेसम्म सञ्चालन हुने जानकारी दिनु भयो ।

जातीय विभेदविरुद्ध खुलेर काम गरिरहनु भएका मोरङ प्रहरी प्रमुख एसपी खड्काले अभियान सञ्चालनका लागि सबै पक्षसँग आग्रह गर्दै आवश्यक पहल गर्नु भएको थियो । समाजमा हुने जातिय भेदभाव र विभिन्न किसिमका विभेदको अन्त्य गर्ने उदेश्य राखेर एसपी खड्का अभियान सञ्चालनमा आग्रसर बन्नु भएको हो । उहाँकै नेतृत्वमा तीन महिनासम्म अभियान चल्ने छ ।

प्रत्येक वर्ष मार्च २१ का दिन अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउने गरिन्छ । यस अवसरमा जातीय छुवाछुतविरुद्ध विविध कार्यक्रमहरु हुन्छन् । दिवसको अघिल्लो दिन मोरङबाट भने विशेष अभियानको सुरुवात हुन लागेको हो । अभियानको सबै पक्षले प्रशंसा गरेका छन् । संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धी महासन्धी पारित गरी जाति तथा रङ्गभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरे पनि नेपालले भने सो महासन्धीलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ मा मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button