Tune to BFM 91.2|Biratnagar

जिल्ला अदालत मोरङमा मिसिल व्यवस्थित गरिँदै

विराटनगर, २१ वैशाख । जिल्ला अदालत मोरङमा रहेका धेरै वर्ष पुराना मिसिलहरुलाई व्यवस्थित गर्न थालिएको छ । मिसिललाई सुरक्षितसाथ राख्ने उपायको खोजी गर्दै ‘डिजिटलाइजेसन’ (प्रविधिकरण) गर्न थालिएको हो । फैसला भएका मुद्दाका पुराना मिसिलहरु अदालतमा अव्यवस्थित र असुरक्षित तथा जथाभावी राखिँदै आएकोमा अब भने प्राविधिको प्रयोग गरेर व्यवस्थित र सुरक्षित गर्न थालिएको छ ।

अदालतका स्रेस्तेदार राजकुमार दाहालका अनुसार अदालतमा एक लाख १० हजारभन्दा बढी पुराना मिसिलहरु छन् । अव्यवस्थित तरिकाले राख्दा खोजेका बेला कुनै पनि मिसिल भेटिँदैनन् । धेरै पुराना मिसिललाई स्क्यानर मोसिनमार्फत स्क्यान गर्दै सर्वोच्च अदालतले विकास गरेको सफ्टवेयरमा सुरक्षितसाथ राख्न थालेर अभिलेखलाई व्यवस्थित एवं सुरक्षित बनाउने काम थालिएको दाहालले बताउनु भयो । अदालतमा रहेका धेरै पुराना मिसिलहरु निकाल्ने र राख्ने गर्दा च्यातिने, खोजेका बेला फेला पार्न नसकिने, खोजीमा जनशक्ति धेरै खर्चनुपर्ने तथा एकै ठाउँमा राखिरहँदा किराले खाइदिने समस्या थियो ।

दाहालका अनुसार सबै मिसिललाई स्क्यानिङ गरेर सफ्टवेयरमा स्टोर गरिएपछि भने खोजेका समयमा तत्काल फेला पार्न सकिने, च्यातिने, नासिने र जनशक्ति खर्चनु पर्ने तथा पुराना मिसिलहरु नष्ट भएर जाने समस्याको अन्त्य हुने छ । जिल्ला अदालत मोरङमा अहिले ११ जना राजपत्र अनङ्कित कर्मचारीको दरबन्दी खाली छ । खाली रहेकामध्ये कम्तीमा पाँच जना कर्मचारीको नियुक्तिका लागि सहमति प्राप्त भएमा दुई वर्षभित्रमा सबै मिसिललाई व्यवस्थित तरिकाले सुरक्षितसाथ अभिलेख गर्न सकिने दाहालको भनाइ छ । मोरङ अदालतले नयाँ नियुक्ति दिने कर्मचारीका लागि तलब र भत्तासमेत छुट्याइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button