Tune to BFM 91.2|Biratnagar

जोखिममा सरसफाई मजदुर

विराटनगर, ८ वैशाख । कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला विराटनगर महानगरपालिका भित्र सरसफाई मजदुरहरु भने फोहोर व्यवस्थापनमा असुरक्षित तरिकाले खटिने गरेको पाइएको छ ।

कोरोना संक्रमण रोक्न अपनाउनु पर्ने सुरक्षाको न्यूनतम मापदण्ड बिनानै फोहोर संकलन र व्यवस्थापनमा प्रत्येक दिन खटाउने गरिएका कारण मजदुर जोखिममा परेका छन् । विराटनगर महानगरपालिकाले सम्झौता गरेर १९ वटै वडामा फोहोर मैला व्यवस्थापन र सरसफाईको जिम्मा वेष्ट म्यानेजमेन्ट गु्रप नेपाल प्रालीलाई दिएको छ ।

म्यानेजमेन्टले दुई सय २० श्रमिक सरसफाईमा परिचालन गर्दै आएको छ । फोहोर संकलन गर्दै व्यक्तिका घर–घर तथा सडक, पेटी र सार्वजनिक स्थल सरसफाई गर्ने मजदुर भने असुरक्षित छन् । व्यक्तिका घर–घरमा पुगेर फोहोर उठाउने उनीहरुलाई सर्जिकल ग्लोब्स र साधारण मास्क बाहेक केही दिइएको छैन ।

व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), चश्मा, स्यानीटाइजर, सर्जिकल मास्क उनीहरुले पाउन सकेका छैनन् । सर्जिकल मास्क उपलब्ध हुन नसक्दा साधारण मास्क लगाएरै फोहोरसँग खेल्नु पर्ने अवस्था रहेको १५ वर्षदेखि सफाई मजदुरको काम गर्दै आएको श्याम राउतले बताउनु भयो । ४४ वर्षीय सुरेश पासवान पनि सुरक्षाको न्यूनतम सामग्री उपलब्ध नभएको बताउनु हुन्छ ।

श्रमिकहरु सुरक्षाका लागि आवश्यक सामग्री पाउन नसक्दा जोखिम मोलेर काम गरिरहन परेको गुनासो गर्छन् । कोही कसैलाई संक्रमण भएको रहेछ भने त्यही घरबाट संकलन गर्नु पर्ने फोहोरका माध्यमबाट आफूहरुमा पनि सर्ने सम्भावना रहेको गुनासो पासवानको छ ।

सुरक्षाका लागि आवश्यक सामग्री नदिइँदा मजदुरसँगै उनीहरुका परिवारका सदस्य पनि असुरक्षित हुने विराटनगरका सूर्य तामाङको भनाइ छ । तामाङले यदि कोही श्रमिक संक्रमित भएमा उनीहरुका परिवारका सदस्यदेखि लिएर उनीहरुसँग सम्पर्कमा रहने सबै जना संक्रमित हुने जोखिम हुने बताउनु भयो ।

सरसफाई श्रमिकलाई ग्लोब्स र स्यानीटाइरज दिइएको बताउँदै म्यानेजमेन्टका प्रमुख देवी आचार्य उनीहरुको सुरक्षाका सवालमा महानगरपालिकाको पनि ध्यान जानु पर्ने बताउनु हुन्छ । जुनसुकै बेला फोहोरमा जोडिनु पर्ने श्रमिकलाई सुरक्षाका लागि आवश्यक सबै सामग्री जुटाउन पहल भइरहेको उहाँको भनाइ छ ।

महानगरको फोहरमैला व्यवस्थापन शाखा प्रमुख हीरा यादवले फोहोर व्यवस्थापनको जिम्मा पाएका कारण सरसफाई श्रमिकको सुरक्षाको जिम्मा पनि म्यानेजमेन्टकै हुने बताउनु भयो । विराटनगर महानगरपालिका भित्र औषतमा दैनिक एक सय ५० मेट्रिक्टन फोहोर उत्पादन हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button