Tune to BFM 91.2|Biratnagar

जोगवनी नाका बन्दको असर, पर्यटन क्षेत्र नराम्ररी प्रभावित

विराटनगर, ३ फागुन । विभिन्न नाकासँगै नेपाल सरकारले प्रदेश १ को राजधानी विराटनगर प्रवेश गर्ने मुख्य जोगवनी नाका पनि बन्द गरेको ११ महिना हुन लाग्यो । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले आवतजावतमा रोक लगाएर २०७६ साल फागुन ११ गतेबाट अन्तर्राष्ट्रिय सीमा नाका सिल गरेको हो ।

जसका कारण नेपालबाट भारत र भारतबाट नेपालतिर सवारी साधनको प्रयोग गरेर हुने आवतजावत पूर्ण रुपमा ठप्प छ । दुवै देशमा कोरोना संक्रमण मत्थर भएपछि त्यतिबेला बन्द गरिएका हवाई यातायात, शैक्षिक संस्था, बजार, पसल, यातायात, उद्योग, कलकारखाना सबै सञ्चालनमा आएर सामान्य अवस्थामा फर्किसकेका छन् । तर नाका नखुल्दा सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा परेको छ ।

विराटनगरका होटल एवं पर्यटन व्यवसायी पुण्य भट्टराईले नाका खुलेपछि नेपालमा घुमफिर र विभिन्न कामका सिलसिलामा आउने भारतीय पर्यटकको चहलपहल बढ्ने र महामारीले थलिएको पर्यटन व्यवसाय विस्तारै बौरिँदै जाने अपेक्षा गरिए पनि पूरा नभएको बताउनु भयो । संक्रमण कम हुँदै गइरहँदा पनि नाका बन्द नै रहँदा भारतीय पर्यटकमा निर्भर रहेको प्रदेश १ को पर्यटन क्षेत्र झन् धरासायी बनेर गएको उहाँको भनाइ छ ।

आन्तरिक पर्यटक पुर्नउत्थान समिति प्रदेश १ का संयोजक भविषकुमार श्रेष्ठ प्रदेशको पर्यटन प्रवद्धनमा ५० प्रतिशत योगदान भारतीय पर्यटकको रहेको बताउनु हुन्छ । भारतीय पर्यटकले पर्यटन क्षेत्र धानिएको भए पनि झन्डै ११ महिनादेखि उनीहरुले नेपालमा खुट्टा राख्न नपाएको उहाँको भनाइ छ । पर्यटनमा ५० प्रतिशत योगदान पुर्याइरहेको मुलुकबाटै लामो समयदेखि पर्यटक आउन नपाउनु र उनीहरुलाई ल्याउन सरकारले पनि उचित पहल गर्न नसक्नु पर्यटन क्षेत्रका लागि ठूलै दुर्भाग्य रहेको श्रेष्ठको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को पर्यटन तथा हवाई यातायात संयोजकसमेत रहनुभएका श्रेष्ठले घुम्न आउने मान्छे हिँडेर र दुःख गरेर नआउने भएकाले सरकारले तत्काल नाका खुला राखेर सवारी साधन सञ्चालनमा सहयोग गर्नुपर्ने माग राख्नु भयो । नभए ठूलो लगानी डुबेर पर्यटन व्यवसायी पलायन हुनपर्ने अवस्था आउनसक्ने श्रेष्ठको भनाइ छ । क्षेत्रीय होटल व्यवासायी संघ प्रदेश १ का अध्यक्ष तथा होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठ नेपालमा भारतबाट धार्मिक, सांस्कृति, प्राकृतिक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रका पर्यटक आउने गरेको बताउनु हुन्छ ।

प्रदेश १ मा पाँचतारेसम्मका र पर्यटकीय स्तरका चार हजार होटल सञ्चालनमा रहेको श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार पर्यटक अभाव हुँदा अर्बौँ लगानी गरिएका होटल धरासायी बनेका छन् भने कतिपय बन्द भइसकेका छन् । घुमफिरबाहेक नेपालीहरु भारततिर र भारतीयहरु नेपालतिर विभिन्न सामान किनमेलका लागिसमेत आउने गरेका छन् । सीमा नाका बन्द हुँदा पछिल्लो समय घरायसी किनमेल, औषधि उपचार, आफन्त भेटघाट, घुमफिर लगायतका कार्यहरु प्रभावित भएको विराटनगरस्थित सीमा क्षेत्रका बासिन्दा अब्दुल हमिदको भनाइ छ ।

मन्त्रिपरिषद् बैठकपछि सरकारले माघ १६ देखि आवश्यक सर्तसहित नाका खुुल्ला गर्ने निर्णय गरेको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आवतजावत गर्नेले सरकारले तोकेका सर्त पूरा गर्नुपर्ने बताउनु भयो । सर्वसाधारणको आवश्यकता र जटिलता हेरेर निश्चित र तोकिएको मापदण्ड पूरा गर्दै यातायातका साधन प्रयोग नगरिकन आवतजावत गर्नलाई प्रशासनले सहजीकरण गरिररहेको जानकारी निरौलाले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button