जोगवनी नाका बिहानैबाट ठप्प

0
168

विराटनगर, ३० जेठ । विराटनगरबाट भारत प्रवेश गर्ने जोगवनी नाकामा आज बिहानैबाट आयात निर्यात ठप्प पारिएको छ । भारतको जोगवनी भन्सारका एजेन्ट र भारतीय सीमा सुरक्षा बल एस एस वीबीचको विवाद उग्र बन्दै गएपछि त्यसको असर भन्सार नाकामा परेको हो । भारत तथा तेस्रो मुलुकबाट सामान लिएर नेपाल छिरेका मालबहाक सवारी साधन सामान झारिसकेपछि फर्कने क्रममा जोगवनी नाकाको प्रयोग गर्न एस एसवीले रोक लगाएको हो । जोगवनी भन्सारका एजेन्टहरु भने त्यही नाकाको प्रयोग गर्न पाउनु पर्छ भन्ने पक्षमा रहेका छन् । एसएसवीले फर्कने क्रममा खाली मालबहाक सवारी साधनलाई जोगवनी नाकाको प्रयोगमा रोक लगाएपछि नाकाबाट हुँदै आएको आयात निर्यात प्रभावित बनिरहेको विराटनगर भन्सार कार्यालयका प्रवक्ता मनीराम पौडेलले बताउनु भयो । नाका ठप्प हुँदा नेपालबाट भारत र भारतबाट नेपालतर्फ जाने आउने दुई सय बढी मालबहाक सवारी साधन बीचैमा अलपत्र परेका छन् । विराटनगर भन्सार कार्यालयको राजस्व संकलन पनि प्रभावित बनेको छ । हिजो साँझ पनि खाली मालबहाक सवारी साधन भारत फर्कन नदिने विषयमा विवाद हुँदा नाका प्रभावित बनेको थियो । आयात र निर्यातकै लागि जोगवनी नाका प्रयोग गर्दा धेरै ठूलो जाम भएको भन्दै एसएसवीले माथिकै आदेशबाट कडाई गर्नु परेको दाबी गरेको नेपाल प्रहरीले जनाएको छ । जोगवनीमा अत्यधिक जाम भएपछि नेपालबाट भारत फर्कने सवारी साधनलाई भने रोक लगाएको बताइएको छ । त्यसको विरोधमा भारतीय भन्सार एजेन्टले जाँचपासमा अवरोध गर्दा भारत तथा तेस्रो मुलुकबाट सामान बोकेर आएका मालबहाक सवारी साधन पनि जोगवनी बजारमै रोकिएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नेपालबाट खाली गाडीलाई विराटनगर– १८ को बुधनगरमा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को बाटो हुँदै फर्काउने विषयमा भारतीय पक्षसँग छलफल भइरहेको बताउनु भयो । आईसीपीको बाटो हुँदै गाडी फर्कन दिंदा जोगवनीको जाम पनि हट्ने विषयमा भारतीय पक्षसँग छलफल भइरहेको उहाँको भनाइ छ । मालबहाक सवारी साधन तत्काल आवतजावत गर्ने वातावरण तयार पार्न पनि पहल भइरहेको प्रजिअ केसीले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here