Tune to BFM 91.2|Biratnagar

झापाका युवा लागुऔषधसहित मोरङबाट पक्राउ

विराटनगर, २६ पुस । झापाका एक युवा लागुऔषधसहित मोरङको सुनवर्षीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–४ का ३२ वर्षीय राकेश चौधरी छन् ।

उनलाई चेकजाँचमा खटिएको सशस्त्र प्रहरीको टोलीले सुनवर्षी नगरपालिका–८ हर्चनगढीबाट पक्राउ गरेको हो । भारतबाट लुकाईछिपाई लागुऔषध लिएर पैदल हिँड्दै नेपालतर्फ आइरहेको अवस्थामा चौधरीलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताउनु भयो ।

उहाँका अनुसार पक्राउ परेका चौधरीको साथबाट लागुऔषध कोडिन ३० बोतल र नाइट्राजेपाम एक सय ५० ट्याब्लेट बरामद भएको छ । आवश्यक कारबाही अघि बढाउन चौधरीलाई नेपाल प्रहरीको जिम्मा लगाइएको एसपी पौडेलको भनाइ छ ।

प्रहरीले उनीविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धान थाल्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button