Tune to BFM 91.2|Biratnagar

झापाका व्यापारी ब्राउन सुगरसहित विराटनगरबाट पक्राउ

विराटनगर, २५ पुस । झापाको गौरादह ठेगाना भएका एक व्यापारी लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित आज विराटनगरबाट पक्राउ परेका छन् । गौरादह नगरपालिका–८ स्थायी ठेगाना भई दमकमा बसोबास गर्दै आएका नामुद व्यापारी ३६ वर्षीय किसन अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विराटनगर महानगरपालिका–१३ नहरनजिकबाट उनलाई बिहान ११ बजेतिर नियन्त्रणमा लिएको हो । कारबाही अघि बढाउन उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नु एक घण्टाअघि उनी मे १ च ५८६२ नम्बरको सेतो कारमा नेपाल–भारत सीमा क्षेत्र पुगेका थिए । नेपालतिरै कार पार्किङ गरेर भारतको जोगवनी बजारतिर हिँडेका उनी नेपाल भित्रिएपछि भने ब्राउन सुगरसहित पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनु भयो ।

उहाँका अनुसार व्यापारी अग्रवालका साथबाट तीन ग्राम एक सय ६० मिलिग्राम ब्राउन सुगर फेला परेको छ । जोगवनीबाट फर्किएपछि पार्किङ गरेर राखेको कारमा चढेर उत्तर विराटनगर बजारतर्फ आउँदै गरेका उनलाई बीचैमा रोकेर चेकजाँच गर्दा साथबाट लागुऔषध फेला परेको जानकारी राईले दिनु भयो । अग्रवालविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिने डीएसपी राईले बताउनु भयो ।

उनी धान चामलको मिल सञ्चालन गर्ने लगायत आफ्ना बुवाकै पुरानो व्यवसायलाई निरन्तरता दिइरहेका व्यापारी हुन् । प्रहरीले उनले सेवन गर्ने हिसाबले लागुऔषध ल्याएको हुनसक्ने बताएको छ । उनको साथमा रहेको पर्सबाट दुई सय रुपैयाँ नगद बरामद भएको छ । साथमा बोकेको २० हजार रुपैयाँ भने उनले ब्राउन सुगर खरिदमा खर्चिएको प्रहरीलाई बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button