टर्कीको दाबी : खशोग्जीको घाँटी थिचेर हत्या गरियो, शव टुक्राटुक्रा पारियो

0
133

काठमाण्डौं, १५ कात्तिक । साउदी पत्रकार जमाल खशोग्जीको घाँटी थिचेर हत्या गरिएको टर्कीले दाबी गरेको छ । यस घटनाबारे पहिलोपटक मुख खोल्दै टर्कीले भनेको छ, दूतावासमा छिर्नेवित्तिकै खशोग्जीको घाँटी थिचेर हत्या गरिएको थियो । अक्टुबर २ मा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा खशोग्जीको हत्या भएको थियो । टर्कीले जारी गरेको बयानमा लेखिएको छ, ‘पहिले नै बनाइएको योजना अनुसार खशोग्जीलाई साउदी अरबको वाणिज्य दूतावासमा छिर्नेवित्तिकै घाँटी थिचेर मारियो । त्यसपछि पूर्वनियोजित रुपमै शवलाई टुक्रा टुक्रा पारेर नष्ट गरियो ।’ यद्यपि टर्कीले कुनै सबुत प्रमाण भने पेश गरेको छैन । यसअघि टर्कीका एक अधिकारीले आफूहरुसँग खशोग्जीको हत्याको अडियो, भिडियो प्रमाण रहेको दाबी गरेका थिए । टर्कीका मिडियाहरुमा छापिएका समाचारमा भने खशोग्जीको हत्या अघि उनलाई यातनासमेत दिइएको उल्लेख छ । खशोग्जी साउदी नागरिक थिए र अमेरिकी मिडियामा काम गर्दथे । उनी आफ्नो देशका शासकको कडा आलोचक मानिन्थे । खशोग्जीको शव अझै फेला परेको छैन । तर टर्की, अमेरिका र साउदी अरबले भनेका छन् उनको हत्या साउदी वाणिज्य दूतावासमै भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here