Tune to BFM 91.2|Biratnagar

टाँडीबाट क्वारेन्टाइन सार्ने तयारी

विराटनगर, १६ वैशाख । प्रदेश १ सरकारले मोरङको मिक्लाजुङ गाउँपालिका–४ टाँडीबाट एक साता भित्रमा क्वारेन्टाइन सार्ने गरी तयारी थालेको छ ।

प्रदेश सरकारसँगको सहकार्यमा टाँडीमा नेपाली सेनाको सूर्य दल गणले सञ्चालन गरिरहेको क्वारेन्टाइन सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँस्थित पूर्वाञ्चल विश्व विद्यालयमा सारिने भएको हो ।

यस विषयलाई लिएर मुख्यमन्त्री शेरधन राईले सबै पक्षसँग छलफल अघि बढाउनु भएको थियो । छलफलबाट क्वारेन्टाइन सार्ने निस्कर्ष निस्किएको मुख्यमन्त्री निकट स्रोतले बतायो । पूर्वाञ्चल विश्व विद्यालयले पनि क्वारेन्टाइन सञ्चालनका लागि आफ्ना संरचना प्रयोग गर्न दिने भएको छ ।

सूर्य दल गणका प्रमुख सेनानी रघु पौडेलले टाँडीमा अनुकूल नभएका कारण गोठगाउँमा सारेर क्वारेन्टाइन सञ्चालन गरिने जानकारी दिनु भयो । टेन्ट टाँगेर अस्थायी रुपमा बनाइएकाले लामो समयसम्म सञ्चालन गर्न समस्या हुँदा सार्नै पर्ने अवस्था आएको उहाँको भनाइ छ ।

जंगलको छेउमा रहेको क्वारेन्टाइनमा मौसम परिवर्तनले पनि असर गरेकाले सुरक्षित ठाउँमा ल्याउनै पर्ने अवस्था आएको जानकारी पौडेलले दिनु भयो । यही वैशाख ८ र ९ गते वर्षासँगै चलेको हावाहुरीले क्वारेन्टाइनमा ठूलो क्षति गरेको थियो । दुई सय वेडको क्वारेन्टाइनमा टेन्ट उडाएर हावाहुरीले ८० वटामा क्षति गर्नुका साथै त्यहाँ लगिएको पानी, बिजुली र इन्टरनेट अवरुद्ध बनाएको थियो ।

कोरोना भाइरस संक्रमणको आशंका गरिएकाहरुलाई राख्नका लागि चैत १० गतेबाट क्वारेन्टाइन सञ्चालनमा ल्याइएको थियो । ‘शंकास्पदलाई दुई सातासम्म यहाँ राखिएपछि परीक्षणबाट रिपोर्ट पोजेटिभ आएमा उपचार सुरु गरिन्छ,’ प्रमुख सेनानी पौडेलले भन्नु भयो , ‘रिपोर्ट नेगेटिभ आएमा होम क्वारेन्टाइनमा राख्ने गरी सम्बन्धित स्थानीय सरकारको जिम्मा लगाएर पठाउने गरिएको छ ।

’ क्वारेन्टाइनमा मंगलबारसम्ममा नौ जना पुरुष र चार महिला गरेर १३ जना रहेका छन् । यस अघि एक सय ४६ जना पुरुष र १० महिला गरेर एक सय ५६ जनालाई राखिएकोमा एक सय ३७ पुरुष र ६ जना महिला गरेर एक सय ४३ जना घर फर्किसकेका छन् । परीक्षणबाट कोरोना नेगेटिभ देखिएकाहरुलाई क्वारेन्टाइनबाट विदा दिएर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउने गरिएको जानकारी प्रमुख सेनानी पौडेलले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button