टिपरका कारण १४ वटा दुर्घटना

0
92

विराटनगर, २ माघ । चालु आर्थिक वर्षको हालसम्म प्रदेश १ मा टिपरका कारण १४ वटा सडक दुर्घटना भएका छन् । टिपर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । लोड भएका बेला तीव्र गति, अनुभव नभएका चालक, साँघुरो सडक लगायतका कारणले टिपर दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । सडकमा प्रतिस्पर्धात्मक रुपमा तीव्र गतिमा कुदाइने टिपरका कारण प्रदेश १ का तराईका जिल्लामा सडक दुर्घटना बढिरहेका छन् । ढुंगा, गिट्टी, बालुवा, माटो लगायतका निर्माण सामग्री ढुवानीमा प्रयोग गरिने टिपर लोड भएको अवस्थामा पनि सडकमा अतिनै तीव्र गतिमा कुदाइने गरिएको छ । बनावटका हिसाबले अरु सवारी जस्तो सजिलो नहुने भएकाले टिपर निश्चित गतिमा कुदाउन आवश्यक रहेको ट्राफिक प्रहरीले जनाएको छ । मोरङको बेलबारी उद्योग बाणिज्य संघका महासचिव विवेक मिश्र टिपरमा चालकको लापरवाही धेरै रहेको बताउनु हुन्छ । व्यवसायी र सरोकारवाला निकाय टिपरको गति र त्यसबाट बढिरहेको दुर्घटना न्यूनीकरण गर्ने दिशामा अघि बढ्नुपर्ने मिश्रको सुझाव छ । तीव्र गति र सडक दुर्घटना न्यूनीकरण मुख्य उदेश्य राखेर ट्राफिकले २०७५ चैत ११ गतेबाट प्रदेश १ का मोरङ, सुनसरी, झापा र उदयपुरमा सञ्चालित टिपरमा ‘टाइम कार्ड’ पनि लागू गरेको छ । यो नियमअनुसार ट्राफिक प्रहरीले तोकेको र चालकलाई वितरण गरिएको कार्डमा उल्लेख भएको समयमा टिपर गन्तब्यमा पुग्नु पर्ने हुन्छ । तर ट्राफिकलाई छल्दै टिपर अत्याधिक गतिमा चलाइन्छ । पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्की सडकको लथालिंग अवस्था र यान्त्रिक गडबडीले हुने दुर्घटनालाई टिपर आतंक भनेर गलत व्याख्या हुने गरेको बताउनु हुन्छ । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहाल ‘टाइम कार्ड’ प्रणालीलाई कडाईका साथ लागू गरेर टिपर चालकलाई अनुशिक्षण र प्रशिक्षण दिने काम पनि भइरहेको बताउनु हुन्छ । तीव्र गतिमा कुद्ने र नियम उल्लंघन गर्नेलाई कारबाही पनि गरिएको उहाँको भनाइ छ । विभिन्न सडक र संरचना निर्माणको काम भइरहेका कारण यो बेला टिपरको चहलपहल अलि बढी नै छ । एसपी दाहालले कुन सडकमा टिपर चलाउन उपयुक्त छ भन्ने अध्ययन गरेर मात्रै सञ्चालनको अनुमति दिँदा संरचनाकै हिसावले जोखिमपूर्ण हुने समस्या टर्ने बताउनु भयो । ट्राफिकले विभिन्न कोणबाट प्रयास गरिरहेको बताउँदै उहाँले ‘ओभरस्पिड’ रोक्न ‘इलेक्ट्रोनिक ट्रयाकिङ सिस्टम’ आवश्यक हुने बताउनु भयो । यसले टिपर कसरी कुदिरहेको छ भन्ने जानकारी लिन सजिलो हुने दाहालको भनाइ छ । प्रदेश १ मा चार हजार आठ सय बढी टिपर सञ्चालनमा छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here