Tune to BFM 91.2|Biratnagar

टिपरको ठक्करबाट वृद्धाको मृत्यु

विराटनगर, १ वैशाख । मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करबाट ‘मर्निङ वाक’ गर्दै गरेकी एक वृद्धा महिलाको आज बिहान मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गमा पूर्वतर्फ जाँदै गरेको प्र–१ –०२–००१ ख ८५३० नम्बरको टिपरका कारण सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा नयाँ वर्ष २०७८ सालको बिहानै मानवीय क्षति हुने गरीको दुर्घटना भएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार टिपरले ठक्कर दिँदा ७५ वर्षीया मैयादेवी प्रधानको मृत्यु भएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । टिपरले ‘मर्निङ वाक’मा निस्कनु भएकी प्रधानलाई बिहान ४ बजेतिर सडक पार गर्दैगर्दा ठक्कर दिएको एसपी खड्काले बताउनु भयो । उहाँका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा बिहान ६ बजेतिर विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । टिपर र चालक मोरङको उर्लाबारी नगरपालिका– ३ का ३२ वर्षीय चूँडामणि भण्डारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

घटनाको विरोधमा स्थानीय बासिन्दाले पूर्व–पश्चिम लोकमार्ग एक घण्टाजति अवरुद्ध बनाए । सडकमा टिपर आतंक रोक्नुपर्ने, कम गतिमा टिपर कुदाउनुपर्ने, दुर्घटना गराउने चालकलाई कारबाही हुनुपर्ने लगायतका माग राखेर आन्दोलित बनेका स्थानीयले सडकमा सवारी साधन चल्न दिएनन् । ढुंगा राखेर र बाँस तेस्र्याएर अवरुद्ध गरिएको सडक प्रहरीको पहलमा खुलाएपछि सवारी साधन सञ्चालनमा आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button