Tune to BFM 91.2|Biratnagar

टिपर र अटो ठोक्किँदा बालिकासहित दुई जनाको मृत्यु

विराटनगर, २१ फागुन । मोरङको ग्रामथान गाउँपालिका–२ र विराटनगर महानगरपालिका–१९ को सीमानामा पर्ने मिलन चौकमा टिपर र अटो टेम्पो एकआपसमा ठोक्किँदा गयराति बालिकासहित दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एउटै परिवारका हजुरबुवा र नातिनीको मृत्यु भएको हो । तुलसी मटर फ्याक्ट्री अगाडि राति ९ बजे घटना भएपछि विराटनगर–विराटचौक सडक खण्ड रातभर तनावग्रस्त बन्यो । विराटचौकबाट विराटनगरतर्फ आउँदै गरेको को १ क २९१७ नम्बरको टिपर र मिलन चौकबाट झोराहाटतर्फ जाँदै गरेको प्र १–०२–००२ ह ८६०६ नम्बरको अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार दुर्घटनामा अटो चालक ग्रामथान–२ का ४५ वर्षीय बाबुराम सरदार र उनकी नातिनी ७ वर्षीय आरोही सरदारको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेर अटोमा पनि पूर्ण रुपमा क्षति पुगेको छ ।

विराटनगर–१९ का वडा अध्यक्ष बद्रीनारायण सरदारकाअनुसार घटनापछि आक्रोसित स्थानीय बासिन्दाले टिपरमा आगो लगाइदिएका छन् । आगजनीपछि जलेको टिपरमा पनि पूर्ण रुपमा क्षति पुगेको उहाँले बताउनु भयो ।

दुवै जना मृतकको शव सडकमा तेस्र्याएर स्थानीय र आफन्तले विराटनगर–विराटचौक सडक खण्डमा घटनाको विरोध गर्दै नाराबाजी र प्रदर्शन गरे । नाराबाजी र प्रदर्शनका कारण रातभर अवस्था तनावग्रस्त बन्न पुग्यो । राति प्रहरीलाई शव समेत उठाउन दिइएन । प्रहरी, जनप्रतिनिधि, स्थानीय र आफन्तबीच भएको वार्तापछि ठक्कर दिने टिपर चालकलाई कारबाही गर्ने र मृतककका परिवारलाई क्षतिपूर्ति दिने सहमति बनेको थियो ।

सहमतिपछि भने शव उठाउन दिन स्थानीय र आफन्त राजी भएको हाम्रा सहकर्मी किशोर बुढाथोकीले जनाउनु भएको छ । शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ । तर आन्दोलित स्थानीयले भने अहिले पनि सवारी साधन सञ्चालनमा रोक लगाउँदै झोराहाट र मिलनचौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

रुखहरु काटेर सडकमा तेस्र्याउँदै स्थानीयले आन्दोलन सुरु गरेपछि उक्त सडक खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ । थप कुनै पनि अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितीलाई नियन्त्रणमा लिने प्रयास भइरहेको डीएसपी राईको भनाइ छ । उहाँले टिपर चालक सुनसरीको रामधुनी गाउँपालिका–५ झुम्काका ३३ वर्षीय हरेराम चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिनु भयो ।

मृतकका छिमेकी श्याम सरदारले लापरबाहीपूर्ण तरिकाले चलाइएका कारण ठक्करबाट मृत्यु भएपछि स्थानीय बासिन्दा आक्रोसित बनेर टिपरमा आगजनी गरेको बताउनु भयो । उहाँकाअनुसार मृतक दुवै जना आफन्तको बिहेमा पुगेर फर्कदै थिए । सडकमा बढेको टिपरको आतंक र ज्यादती बन्द गर्नु पर्ने माग गर्दै स्थानीय र मृतकका आफन्तले आन्दोलनलाई जारी राखेको श्यामको भनाइ छ ।

उहाँकाअनुसार दोषीमाथि कारबाही हुनु पर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने, टिपरको आतंक बन्द गर्नु पर्ने लगायतका माग स्थानीयले अघि सारेका छन् । श्यामले मृतकको पारिवारिक आर्थिक अवस्था एकदमै कमजोर रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button