Tune to BFM 91.2|Biratnagar

अटोभित्र बेहोस भेटिए इटहरीका युवा, नोबेल अस्पताल पुर्याउनसाथ मृत्यु

विराटनगर, १२ साउन । सुनसरीको इटहरी उपमहानगरपालिका–३ तालतलैया घर भएका एक युवाको विराटनगरमा अटो टेम्पोभित्र बेहोस भेटिएको केही बेरमै मृत्यु भएको छ । कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ एयरपोर्ट मोडमा अटोभित्र बेहोस अवस्थामा भेटिनु भएका ३० वर्षीय विषम श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताउनु भयो ।

उहाँ सडकको पश्चिमतर्फ रोकेर राखिएको को २ ह २३३३ नम्बरको अटोभित्र हिजोसाँझ ७ः४५ बजेतिर बेहोस भेटिनु भएको थियो । सिटमा ढल्किएको अवस्थामा अटोका चालकसमेत रहनु भएका उहाँ बेहोस भेटिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका हुन् । प्रहरीले उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको जानकारी एसपी जिसीले दिनु भयो । ‘

मुख पूरै सुख्खा भएको अवस्थामा बेहोस भेटिएपछि गर्मीले समस्या बनाएको हो कि भन्ने आशङ्कामा उपचारका लागि लगिएको थियो,’ उहाँले भन्नु भयो, ‘तर अस्पताल पुर्याउनसाथ चिकित्सकले अटो चालकलाई मृत घोषित गरिदिएका हुन् ।’ उक्त अटो श्रेष्ठको आफ्नै रहेको प्रहरीले जनाएको छ । अटोमा बोराभित्र पाँच किलोजति चिनी र आधा खाएको अवस्थामा फ्रुटीको बट्टा पनि भेटिएको प्रहरीले जनाएको छ । एसपी जिसीले घटनाका बारेमा अनुसन्धान थालिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button