Tune to BFM 91.2|Biratnagar

ट्रक ठोक्किँदा भाँचियो विराटनगरको स्तम्भ

विराटनगर, २२ वैशाख । मादक पदार्थ सेवन (मापसे) गरेका चालकले तीव्र गतिमा चलाएको ट्रक ठोक्किँदा विराटनगर महानगरपालिका–५ बरगाछीमा रहेको स्तम्भ भाँचिएको छ । दक्षिणतर्फ जाँदै गरेको ना ७ ख १४३७ नम्बरको खाली ट्रकले स्तम्भलाई गय राति ९ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

ठक्करबाट रड, सिमेन्ट र इँटा प्रयोग गरेर बनाइएको स्तम्भ भाँचिएर पूरै क्षति पुगेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । स्तम्भ सडकको बीचमै पल्टिए पनि कोसी लोकमार्गमा सवारी सञ्चालनमा भने कुनै अवरोध नपुगेको उहाँको भनाइ छ । दुर्घटना हुँदा विष्फोट भएजस्तो ठूलो आवाज आएको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् । दुर्घटना गराउने ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका– ६ का २५ वर्षीय पदम ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोसी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनले मापसे गरेको पत्ता लागेको छ ।

डीएसपी राईका अनुुसार दुर्घटना गराउने ट्रकका चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि छैन । तीव्र गति र चालकले मापसे गरेर कुदाएका कारण नियन्त्रण गुमाउँदा स्तम्भमा ठोक्किएर ट्रक दुर्घटनामा परेको जानकारी उहाँले दिनु भयो । सडक विस्तारका क्रममा बरगाछीमा रहेको रुख काटिएपछि लायन्स क्लब अफ विराटनगरले बरकै रुखजस्तो देखिने स्तम्भ सडकको बीचमा बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button