डमी ट्राफिक’ ले दुर्घटना कम गर्यो

0
400

विराटनगर, ५ बैशाख । विराटनगरको बरगाछीदेखि खारजी चौकसम्मको सडकमा ट्राफिक प्रहरीको नमुना आकृतिको बोर्ड बनाएर डमी ट्राफिकका रुपमा राखिएपछि यो सडक खण्डमा हुने दुर्घटनामा कमी भएको छ । बरगाछीदेखि खारजीसम्मको ५ किलोमिटर खण्डमा ट्राफिक प्रहरी पोष्ट नेमुवाका सहायक निरीक्षक तुलामणि आचार्यको सक्रियता र पहलमा ट्राफिकले प्रयोग गर्ने पोशाकसहितको आकृतिको बोर्ड ‘डमी ट्राफिक’ का रुपमा ६ ठाउँमा राखिएको छ । अति नै व्यस्त रहने सडकको बीचमा राखिएका यही आकृतिका डमी ट्राफिकका कारण सवारी चलाउँदा लापरवाही गर्न हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकहरु पर्ने गरेको सवारी चालक राजकुमार दाहालले बताउनु भयो । यो सडक अत्यधिक दुर्घटना हुने सडक भित्र पर्ने गरेको थियो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलका अनुसार ट्राफिककै आकृतिमा बोर्ड बनाएर राखिंदा दुर्घटनामा कमी हुँदै गइरहेको छ । दैनिक एक÷दुईवटा दुर्घटना हुने गरेकोमा तीन महिना यता यो सडक खण्डमा कुनै पनि दुर्घटना नभएको उहाँले बताउनु भयो । चालकले ट्राफिक नियम उल्लंघन गर्दा र लापरवाही ढंगबाट सवारी साधन चलाउँदा अनियन्त्रित भएर र सडकको बीचमा रहेका डिभाईडरमा ठोक्किएर दुर्घटना हुने गरेको पोखरेलको भनाइ छ । तर ठाउँ–ठाउँका डिभाईडरमाथि डमी ट्राफिक राखिएपछि त्यसले चालकलाई मनोवैज्ञानिक प्रभाव पार्दा दुर्घटना शून्यमा झरेको पोखरेलले बताउनु भयो । ट्राफिक प्रहरीका सहायक निरीक्षक तुलामणि आचार्यका अनुसार विशेष गरेर बोर्डले रात समयमा हुने दुर्घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेलेको छ । ‘सडक र डिभाईडर उस्तै देखिंदा डिभाईडरमा ठोक्किएर रातको समयमा बढी दुर्घटना हुने गरेका थिए,’ उहाँले भन्नु भयो, ‘रातमा टल्किने र छर्लङ्गै ट्राफिक जस्तै देखिने बोर्ड राखिएपछि कुनै पनि दुर्घटना भएका छैनन् ।’ परबाट हेर्दा दुरुस्तै ट्राफिक प्रहरी सडकमा खटिरहेको देखिने भएकाले चालक आफै सचेत हुने गरेको राजमार्गको सोही खण्डमा ट्राफिक व्यवस्थापनमा खटिंदै आएका आचार्यको भनाइ छ । डमी ट्राफिकका रुपमा बोर्ड राखेपछि मादक पदार्थ सेवनकर्ता, तीव्र सवारी कुदाउने चालक, कागजपत्र नबोकि हिँड्ने सवारीधनीहरु भने सतर्क हुने गरेको पाइएको उहाँले बताउनु भयो । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले नमुनाका रुपमा प्रयोग गरिएको ट्राफिक प्रहरीको डमी दुर्घटना न्यूनीकरणमा सफल भएका कारण अन्य स्थानमा पनि राख्ने तयारी गरिएको जानकारी दिनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here