Tune to BFM 91.2|Biratnagar

डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक

काठमाण्डौं, २२ असोज । २५ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन ।

त्रिवि शिक्षण अस्पतालका अनुसार उनको रक्तचाप निकै कम भएको, अक्सिजनको मात्रा धेरै घटेको, मुटुको चाल अस्थिर रहेको साथै रगतमा इलेक्ट्रोलाइट्स र ह्वाइट ब्लड सेल्सको मात्रा निकै कम भइसकेको छ । शरीरमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम भयो भने जोखिमपूर्ण मानिन्छ तर, डा केसीको शरीरमा यो मात्रा ८९–९० प्रतिशतमा झरेको छ । अस्पतालका अनुसार डा केसीलाई बारम्बार नशाबाट इलेक्ट्रोलाइट्स लिन आग्रह गर्दा पनि उनले सामान्य सलाइनभन्दा अन्य उपचार लिन मानिरहेका छैनन । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै डा केसी २५ दिन यता अनशनमा हुनुहुन्छ ।

सरकारले डा.केसीसँग वार्ता गर्नका लागि हिजो शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । जसमा मन्त्रालयका सहसचिव डा गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा दीलिप शर्मा सदस्य रहनु भएको छ । सरकारले वार्ता टोली गठन गरेसँगै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो ।

वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा. अन्जनी कुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button