Tune to BFM 91.2|Biratnagar

डिलरबाटै प्रतिबन्धित औषधिको कारोबार,सञ्चालक पक्राउ

विराटनगर, २३ साउन । प्रतिबन्धित औषधिको कारोबारमा संलग्नले पूर्वमा डिलर नै सञ्चालन गरेको खुलेको छ । झापाको दमक नगरपालिका–७ मा सञ्चालनमा रहेको एउटा औषधिको होलसेल पसलमा छापा हान्दा यस्तो रहस्य खुलेको हो ।

छापा हानेर औषधि व्यवस्था विभाग विराटनगर र प्रहरीको संयुक्त टोलीले मेडिसिन डिस्ट्रीब्युटर्स नामक औषधिको होलसेल पसलका सञ्चालक ३८ वर्षीय गंगाबहादुर खड्कालाई हिजो साँझ पक्राउ गरेको छ ।

उनले चलाएको होलसेल पसल भएको घरबाट नेपालमा आयात, किनबेच र सेवनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएका ठूलो परिणामको औषधि पनि बरामद भएका छन् । विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले औषधिको होलसेल पसलका आडमा खड्काले प्रतिबन्धित औषधि बिक्रीको धन्दा पनि चलाइएको खुलेको बताउनु भयो ।

उहाँकाअनुसार घरबाट एक सय २० पत्ता ट्रामाडोल, ३० पत्ता जेनग्रा रेड, ९५ ट्युब लुलीगार्ड, चार सय बट््टा डर्मीकेम ओसी, १४ पत्ता प्रेगाउट किट, एक सय ४० पत्ता भिवेल फोर्ट र एक सय ५० ट्युब क्लोबेटा जिएम समेतका प्रतिबन्धित औषधि बरामद भएका छन् ।

खड्काले प्रतिबन्धित औषधिको पनि कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरी र विभागले उनीमाथि धेरै पहिलेदेखि निगरानी बढाएका थिए । अरु औषधिमा मिसाएर सेवन गर्दा लागुऔषधको जस्तै नसा दिने भएकाले ट्रामाडोल सरकारले नेपालमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धित अवैध औषधिसहित पक्राउ गरिएका खड्कालाई भने हिरासतमा राखेर थप कारबाही अघि बढाइएको छ । यसअघि प्रतिबन्धित औषधिसहित पक्राउ परेकाहरुले खड्काबाटै आफूहरुले औषधि खरिद गर्ने गरेको बयान दिएपछि प्रहरी र विभागले उनीमाथि निगरानी बढाएका थिए ।

घरबाटै डिलर सञ्चालन गरेका खड्का पूर्वका विभिन्न सहरमा प्रतिबन्धित औषधि ‘सप्लाई’ गर्ने अवैध डिलर सञ्चालक भएको खुलेको छ । प्रतिबन्धित औषधि फार्मेसीहरुलाई पनि उपलब्ध गराउने गरेको पाइएको छ ।

खड्काविरुद्ध औषधि ऐन २०३५ अनुसार कारबाही गर्न अनुसन्धान अघि बढाइएको जानकारी कट्टेलले दिनु भयो । प्रारम्भिक अनुसन्धानबाट खड्काले ऐनको दफा १८ को बर्खिलाप गरेको खुलेको छ ।

ऐनको दफा १८ ले कुनै पनि औषधिको दुरुपयोग गर्न नपाइने र दुरुपयोग गरेमा कैद र जरिवानाको सजाय हुने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button