On Air BFM 91.2|Biratnagar

डेरी उद्योगका उत्पादन र प्याकेजिङका लागि अनुदान

विराटनगर, ९ असार । नेपाल कृषि बजार विकासले दुग्धजन्य उत्पादन र प्याकेजिङमा नवीनतम योजनालाई अगाडि सार्ने उद्योगी तथा किसानका लागि दोस्रो चरणको सहयोग अनुदान कार्यक्रम ल्याएको छ । यसमा स्टाटअफ तथा व्यवसाय गरिरहेका डेरी उद्योगहरुले पाँच लाखदेखि ५० लाख रूपैयाँसम्मको सहयोग अनुदान लिनसक्ने गरी आवेदन खुला गरिएको छ । स्वीस सरकार विकास सहयोग एसडीसीसँगको आर्थिक एवं आईडीया स्टुडियोको प्राविधिक सहयोगमा सहजले कार्यक्रम सञ्चालनमा ल्याएको हो । विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरेर उत्पादनलाई बजारीकरण गर्न र उपभोक्ताको रोजाइमा पार्नका लागि कार्यक्रम लक्षित रहने जानकारी दिइयो । उपभोक्ताको चाहना अनुसारको प्याकेजिङले उत्पादनलाई ब्राण्डिङ गर्न कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ । पत्रकार सम्मेलनमा नेपाल कृषि बजार विकास कार्यक्रमका स्वीस कन्ट्रयाक्टर रिक भान डेर काम्पले परियोजना बारे जानकारी गराउँदै कृषकका उत्पादनलाई बजारीकरण गर्नका लागि सहयोग गर्ने लक्ष्य राखिएको बताउनु भएको छ ।

उहाँले दुग्धजन्य उत्पादनको प्रशोधन र प्याकेजिङमा कार्यक्रम लक्षित रहेको बताउनु भयो । स्वीस सरकारको सहयोगमा प्रदेश १ का चारवटा उत्पादन दूध, अलैँची, तरकारी र मकै बालीको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । सहजले दुग्धजन्य वस्तुको प्याकेजिङका लागि दुई करोड रुपैयाँ प्रारम्भिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रममा आईडीया स्टुडियोका कार्यकारी प्रमुख डा. छिरिङ लामाले कृषकको उत्पादनलाई व्यवस्थित कसरी गर्न सकिन्छ भनेर नयाँ अवधारणको विकास गर्ने लक्ष्य राखिएको बताउनु भयो । भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले कार्यक्रमबाट किसानलाई सहयोग पुग्ने दाबी गर्नु भयो ।

प्रदेश १ दूधमा आत्मानिर्भर भएपनि यसको प्रशोधन र प्याकेजिङमा विविधिकरण हुननसक्दा आयातित वस्तुको प्रयोग बढ्दो रहेको सचिव तिम्सिनाको भनाइ थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले उत्पादनको प्याकेजिङ र त्यसको गुण सुरक्षित गर्ने विषय चुनौतीपूर्ण रहेको बताउनु भयो । उहाँले नयाँ व्यवसाय गर्न चाहनेहरुका लागि कार्यक्रम एउटा अवसर भएको बताउनु भयो । अनुदानमा सहभागी भएर व्यवसाय प्रवद्र्धन गर्ने नयाँ सोच भएका व्यवसायीले सहजको वेवसाइडमा गएर त्यहाँ आफ्नो आवेदन दिनसक्ने सुविधा रहेको छ ।

Leave a Reply

Your email address will not be published.

Call Now Button