Tune to BFM 91.2|Biratnagar

ढुवानी व्यवसायीद्धारा मूल्य अभिबृद्धि करको बिरोध

विराटनगर, ९ असार । देशभरिका ढुवानी व्यवसायीले मूल्य अभिबृद्धि करको बिरोध गर्दै ब्यवसाय ठप्प पार्ने चेतावनी दिएका छन ।

विभिन्न जिल्लास्थित ४२ वटा ट्रक व्यवसायी सङ्घले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै असार १६ गतेदेखि ढुवानी व्यवसाय संचालन नगर्ने चेतावनी दिएका हुन् । सबै ४२ वटै सङ्घले आआफ्नो जिल्लाका नेकपा, नेका र मधेसवादी दलका अध्यक्षलाई पनि एकै प्रकारको ज्ञापन बुझाएका छन् ।

ज्ञापनपत्रमा २०७७÷०७८ को बजेटमा ढुवानी व्यवसायमा मूअकर नलाग्ने लगायतका मागको सम्बोधन नगरिँदा व्यवसायीउपर सरकारबाट धोका भएको उल्लेख गर्दै व्यवसाय नै बन्द गर्ने चेतावनी दिइएको छ ।

विराटनगर ट्रक व्यवसायी सङ्घले मोरङका प्रजिअलाई दिएको ज्ञापन पत्रमा ढुवानी सेवालाई मूअकर भित्र नराखी मूअकर ऐन २०५२ को दफा ५ को उपदफा ३ सँग सम्बन्धित अनुसूची १ को खण्ड ९ मा राखिनुपर्ने माग गरिएको छ ।

त्यस्तै बाटो इजाजत पत्र (रोड परमिट) बिना झन्झट सवारी दर्ता किताबका आधारमा नेसनल परमिट दिने व्यवस्था गर्नुपर्ने र मालवाहकका हकमा पञ्जीकरण गर्ने व्यवस्था खारेज गर्नुपर्ने माग ज्ञापनपत्रमा छ । ज्ञापनपत्रमा लकडाउन अवधिभरको सबै खाले सवारीमा लाग्ने सवारी करमा समानुपातिक रूपमा छुट गरी बाटो इजाजतपत्र र जाँचपासमा जरिवाना तथा थप दस्तुर लाग्नु नहुने माग गरिएको छ ।

त्यस्तै आर्थिक वर्ष पार गरी पछिल्लो साउन १ पछाडि दुई वर्षको कर अनिवार्य तिर्नुपर्ने प्रावधान हटाउन सङ्घले आग्रह गरेको छ । मालवाहक, यात्रुवाहक र पेट्रोलियम ढुवानी लगायतका सबै खाले सवारीलाई सार्वजनिक सेवा अन्तर्गत राख्न पनि सङ्घले आग्रह गरेको छ ।

सङ्घले लकडाउन अवधिको सबै खाले सबारी साधनको बैङ्किङ कर्जामाथि बैङ्कले लिने हर्जानालाई मिह्ना गरी उक्त अवधिको सहुलियत दरको ब्याज बुझाउन पाइने व्यवस्था र बाँकी किस्तालाई किस्ताको रकम नघट्ने गरी पुनर्तालिकीकरण गर्न मौद्रिक नीतिमार्फत नीतिगत व्यवस्था गर्न पनि माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button