Tune to BFM 91.2|Biratnagar

तराईका जिल्लामा बढ्दो ठिहीले जनजीवन कष्टकर

विराटनगर, २ माघ । प्रदेश १ को राजधानी विराटनगर लगायत तराईका जिल्लामा केही दिनयता तापक्रम ओरालो झर्ने क्रममा रहेको छ । तापक्रम ओरालो झर्नुका साथै चिसो हावा र बाक्लो हुस्सुसँगै चलेको शीतलहरले अत्याधिक ठिही बढेर चिसो हुँदा जनजीवन नराम्ररी प्रभावित बनेको छ । विराटनगरमा केही दिनदेखि घाम देख्न पाइएको छैन । सबैतिरको मौसम धुम्म छ । दिन प्रतिदिन चिसो अचाक्ली बढेको महसुस हुन थालेको छ ।

हुस्सुले आकाश ढाकेर घाम देख्न नपाउँदा र पश्चिमी वायुसँगै शीतलहर चल्दा बढेको चिसोले सर्वसाधारणलाई नराम्ररी गाँजेको छ । चिसोका कारण जनजीवन निक्कै कष्टकर बनेको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका प्रमुख विकास देउजाले दैनिक तापक्रम ओरालो लाग्ने क्रममा रहेका कारण चिसो बढ्दै गएको बताउनुभयो । कार्यालयका अनुसार हिजो ९.८ डिग्री सेल्सियस मापन गरिएको विराटनरको न्यूनतम तापक्रम आज बिहानसम्म आइपुग्दा ९.५ डिग्रीमा झरेको छ । तापक्रम ओरालो झर्दै जानुलाई सामान्य मान्न नसकिने र थप चिसो बढ्ने संकेतका रुपमा लिनुपर्ने देउजाको भनाइ छ ।

मौसम चिसिँदै जाने अवस्थामा केही दिन कायम रहनसक्ने उहाँले बताउनुभयो । चिसो धेरै बढेपछि सडकमा सर्वसाधारणको हिँडडुल पातलिन थालेको छ । सवारी साधन कम मात्रामा सडकमा देखिन थालेका छन् । चिसोले सार्वजनिक स्थल, सरकारी कार्यालय, सडक तथा विभिन्न ठाउँमा सर्वसाधारणको चहलपहल कम भएको छ । अत्याधिक जाडो बढेपछि आर्थिक अवस्था कमजोर भएका, न्यानो लुगा किनेर लगाउन नसक्ने, वासस्थानको उचित व्यवस्था नभएकाहरुको कन्तविजोग भएको छ ।

गरिबीमाथि चिसोको पीडा थपिँदा बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरु बढी प्रभावित बनेको पाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रबबहादुर खड्काले बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले चिसोबाट सर्वसाधारणलाई जोगाउने उपायको खोजी थालिएको बताउनु भयो ।

‘चिसोबाट प्रभावित बनेकाहरुको विवरण संकलन तीव्र पारिएको छ,’ उहाँले भन्नु भयो ,‘उनीहरुलाई सुरक्षित राख्दै जाडोको समयमा हुने मानवीय क्षति रोक्न आवश्यक कदम चालिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button