Tune to BFM 91.2|Biratnagar

तस्करको आक्रमणबाट मोरङमा असइ गम्भीर घाइते

विराटनगर, २५ माघ । इन्धन तस्करी गर्ने गिरोहले आक्रमण गरेर मोरङको जहदा गाउँपालिका–५ लक्ष्मीनीयामा नेपाल प्रहरीका असइ रामकुमार माझीलाई हिजो साँझ गम्भीर घाइते बनाएको छ ।

प्रहरी चौकी मझारेका प्रमुख एवं इन्चार्ज माझीमाथि तस्करीको डिजेल भारततिर लग्दै गरेका जहदा–७ का २१ वर्षीय बब्लु साहले ज्यानै लिने हिसाबले आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । गम्भीर घाइते माझीको विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ । नेपालबाट भारततिर डिजेल तस्करी भइरहेको सूचनाका आधारमा रोक्नका लागि असइ माझी कार्यालयको बा २ ब ५६२८ नम्बरको मोटरसाइकलमा पुग्नु भएको थियो ।

तस्करको पिछा गर्न निस्कनु भएका उहाँलाई सहयोग गर्न अरु प्रहरी पनि जाँदै थिए । तर थप मद्धतका लागि खटिएका अरु प्रहरी पुग्न नपाउँदै जम्का भेटभएपछि तस्करले उहाँमाथि साङ्घातिक हमला गरेको डीएसपी राईले बताउनु भयो । उहाँका अनुसार तस्करीमा संलग्न साहले ५० लिटर दरका तीनवटा ड्रम (ग्यालेन) मा एक सय ५० लिटर डिजेल भरेर को १४ प ७६३ नम्बरको मोटरसाइकलमा राखी भारततिर लैजाँदै थिए ।

पिछा गर्दै पुगेका असइ माझीले रोक्न खोजेपछि साहले डिजेलले भरिएको ड्रमसहितको मोटरसाइकल नहरमा लडाएका थिए । उठाउने प्रयास गर्दै गर्दा माझीमाथि मोटरसाइकलसहित लडेका साहले आक्रमण गरेका हुन् । आक्रमणबाट भुइँमा ढलेपछि बोल्नै नसक्ने र अनुहारबाट भलभली रगत बगिरहेको अवस्थामा माझीलाई थप मद्धतका लागि पुगेको प्रहरी टोलीले तत्काल उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएको हो । मोटरसाइकलसहित लडेपछि खुट्टामा चोट लागेका साहले मुक्का, ढुंगासमेतले आक्रमण गरेको डीएसपी राईले बताउनु भयो ।

माझीको अनुहारका गम्भीर चोट छ । डीएसपी राईका अनुसार घाइते असइको दुवै आँखामा चोट लाग्नुका साथै नाकको हड्डी भाँचिएको छ । ओठ पनि काटिएको छ । चिकित्सकले जतिसक्दो चाँडो नाकको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन् । घटनास्थलमा पुगेका प्रहरीले आक्रमण गर्ने साहलाई नियन्त्रणमा लिँदै गम्भीर घाइते अवस्थामा असइ माझीको उद्धार गरेका छन् ।

प्रहरीले तीनवटा ड्रमसहित तस्करीको एक सय ५० लिटर डिजेल र डिजेल तस्करीमा प्रयोग गरिएको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । साह लामो समयदेखि नेपालबाट भारततिर डिजेल, पेट्रोल लगायतका पेट्रोलीयम पदार्थको तस्करी गर्ने गिरोहका नाइके हुन् । साहविरुद्ध कारबाही अघि बढाउन आवश्यक अनुसन्धान थालिएको राईले बताउनु भयो । घटनास्थल नेपाल–भारत सीमाक्षेत्रबाट तीन किलोमिटर उत्तरमा पर्छ ।

झापा घर भएका असइ माझी भने सात महिनदेखि प्रहरी चौकी मझारेमा कार्यरत हुनुहुन्थ्यो । मझारे प्रहरी चौकमा आठ जना प्रहरी कार्यरत छन् । अत्याधिक मात्रामा तस्करी हुने नेपाल–भारत सीमा क्षेत्रमा पर्याप्त जनशक्ति नहुँदा असुरक्षित रुपमा काम गर्नुपर्ने अवस्था रहेको गुनासो प्रहरीले गरेका छन् ।

जोखिम मोलेर ड्युटी गर्नुपर्ने र बारम्बार तस्करको निसानामा पर्ने गरेको गुनासो सीमा क्षेत्रका प्रहरीको छ । डिजेल, पेट्रोल लगायतका इन्धन नेपालमाभन्दा भारतमा महँगो पर्ने भएकाले नेपालबाट भारततिर तस्करी हुने गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button