Tune to BFM 91.2|Biratnagar

तस्करलाई जेलबाट छुटाउने धरौटी रकम असुल्न युवाको अपहरण

विराटनगर, १७ फागुन । कपडा तस्करी प्रकरणमा जेल परेकी महिलालाई छुटाउन विराटनगर महानगरपालिका–१८ खोक्साका २३ वर्षीय सुभाष कामतको अपहरण गरिएको पुष्टि भएको छ । महिलालाई छुटाउ धरौटी रकम आवश्यक पर्ने भएपछि उक्त रकम असुल्न अपहरण गरिएको प्रहरीको भनाइ छ ।

अपहरणमा परेका ति युवा पनि विगतमा तस्करी धन्दामै संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटना अनुसार कपडा लिएर काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८३१२ नम्बरको ट्रकलाई सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा गत असार २९ गते इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको थियो । अनुसन्धानबाट नक्कली बिलविजकको प्रयोग गरेर कपडा ओसारपसार भइरहेको पुष्टि भए पछि तस्करीमा संलग्न सुभाष र विराटनगर–६ की ५६ वर्षीय मञ्जु शर्मा पक्राउ परे ।

तस्करीमा संलग्न देखिएका मञ्जुका श्रीमान विराटनगर–६ का ५८ वर्षीय दीपक शर्मा र छोरी २८ वर्षीया रीमा पासवान फरार बने । राजस्व कार्यालयले पक्राउ परेका दुईसहित चारै जनालाई प्रतिवादी बनाउँदै उच्च अदालत विराटनगरमा गत मंसिर १८ गते राजस्व चुहावट मुद्दा दर्ता गर्यो । अदालतले पक्राउ परेका प्रतिवादीलाई प्रतिव्यक्ति १०÷१० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएपछि उक्त रकम तिरेर सुभाष छुटे पनि धरौटी रकम बुझाउन नसक्दा मञ्जु भने जेलमा पुगिन् । उनी अहिले पनि कारागारमै थुनामा छिन् । सुभाषकै सुराकीका आधारमा मञ्जु जेल पुगेको निस्कर्ष तस्कर समूहको छ ।

त्यही भएकाले जेलमा परेकी मञ्जुलाई छुटाउनलाई धरौटीवापतको रकम तिरिदिन उनका श्रीमानसहित तस्करको समूहले सुभाषलाई बारम्बार दबाब दिएको खुलेको प्रहरीले जनाएको छ । त्यो रकम नतिरिदिएपछि पाँच जना तस्करको समूहले उनको अपहरण गरेको र बन्धक बनाउँदै धरौटीवापत तिर्नुपर्ने रकम परिवारका सदस्यसँग माग गरेको प्रहरीको भनाइ छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले उक्त अपहरणको योजना मञ्जुका श्रीमान दीपक, विराटनगर–१६ दरैयाका २० वर्षीय रोहित पण्डित, ३२ वर्षीय सिकेन्द्र यादव, २१ वर्षीय अजय यादव र विराटनगर–६ रामपुरकी २८ वर्षीया सन्ध्या शर्माले बनाएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button