Tune to BFM 91.2|Biratnagar

तस्करीको ट्याक्टर र ४९ बोरा चिनी नियन्त्रणमा

विराटनगर, ३० मंसिर । मोरङ प्रहरीले भन्सार छली गरी भारतबाट तस्करी गरेर ल्याउँदै गर्दा गय राति एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । मोरङको सुनवर्षी नगरपालिका–७ बाट प्रहरीले नयाँ अनटेष्ट ट्याक्टर नियन्त्रणमा लिएको हो ।

सोनालिका कम्पनीको उक्त नयाँ ट्याक्टर १६ लाख मूल्य बराबरको रहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो । भारतबाट कटाएर लगभग दुई किलोमिटरजति उत्तरतर्फ ल्याइपुर्याएपछि प्रहरी चौकी बरडंगाबाट खटिएको टोलीले राति ८ बजेतिर ट्याक्टर फेला पारेको हो । प्रहरीले रोक्नसाथ ट्याक्टरबाट हामफालेर चालक फरार भएको एसपी खड्काले बताउनु भयो ।

प्रहरीले नियन्त्रणमा रहेको ट्याक्टर मेरो हो भनेर दाबी गर्न कोही पनि आएका छैनन् । प्रहरीले ट्याक्टर आज दिउँसो आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । त्यस्तै प्रहरीले तस्करीको चिनीसहित मोरङको धनपालथान गाउँपालिका–४ बाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–१ मा २१ वर्षीय अभिषेककुमार साह, धनपालथान गाउँपालिका– २ का १७ वर्षीय दीपककुमार मण्डल, १८ वर्षीय अर्जुनकुमार मण्डल र १९ वर्षीय रूपेश मण्डल छन् ।

भारतबाट ल्याएर अवैध रुपमा ल्याएर सुनिल राजवंशीले गोदाममा भण्डार गरेको अवस्थामा ४९ बोरा (प्रति बोरा ५० किलो) चिनी पनि बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

तस्करीको चिनी पल्टी गर्दै गरेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरे पनि गोदाम सञ्चालकलाई भने नियन्त्रणमा लिएन । चिनी भारतको कुवाडीबाट तस्करी गरेर ल्याएको खुलेको राईको भनाइ छ । उहाँका अनुसार चिनी एक लाख ४७ हजार मूल्य बराबरको छ । पक्राउ परेकाहरुले चिनी तस्करीमा प्रयोग गर्ने गरेको तीनवटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

डीएसपी राईका अनुसार को १८ प ५७४३, को २२ प १६४४ र को ११ प ६६५९ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको हो । प्रहरीले तस्करीको चिनीसहित पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि आज विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button