Tune to BFM 91.2|Biratnagar

तस्करीको हरियो मटर बरामद

विराटनगर, २२ साउन । मोरङको धनपालथान गाउँपालिका–२ पैठाबाट भारत तस्करी हुँदै गरेको अवस्थामा गयराति नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले ठूलो परिणामको हरियो मटर बरामद गरेको छ । पैठा नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकै पर्छ ।

बोरामा प्याक गरेर को १ ख ४८८७ नम्बरको मिनी ट्रकमा राखेर लैजादै गरेको अवस्थामा पाँच लाख मूल्य बराबरको छ हजार दुई सय ५० किलोग्राम मटर बरामद गरिएको हो । फरार रहेको भन्दै प्रहरीले ट्रक चालकलाई भने पक्राउ गरेन ।

यसअघि पनि पटक–पटक ठूलो परिणामको तस्करीको मटर प्रहरीले मोरङका सीमावर्ती क्षेत्रबाट बरामद गर्दै आएको छ । मोरङ प्रहरीका प्रमुखका रुपमा एसपी सन्तोष खड्का आएपछि प्रहरीले तस्करीको मटर नियन्त्रणमा ठूलो सफलता हात पारिरहेको छ । प्रहरीले बरामद गरेको मटर धनपालथान–२ बस्ने दिलिप साहको भएको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

साह हाल फरार रहेकाले खोजी तीव्र पारिएको उहाँले बताउनु भयो । प्रहरीले मटरसँगै बरामद गरेको बिलमा विराटनगरको हाटखोलास्थित एन्जिला सप्लायर्सबाट धनपालथान –२ मा रहेको महिमा दलन तथा फलफूल स्टोरमा लगिएको उल्लेख गरिएको छ ।

तर दशगजा हुँदै भारत टपाउने प्रयास गरिएपछि ट्रकसहित मटर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मटर तस्करीमा प्रयोग गरिएको ट्रकको अगाडिको सिसामा भने खाद्य सामग्री ढुवानीमा प्रयोग गरिएको भन्ने ‘ट्याग’ राखिएको छ ।

यसरी ‘ट्याग’ राख्दा खाद्यान्न ढुवानी गरिएको होला भनेर सुरक्षाकर्मीले पनि वास्ता नगर्ने भएकाले तस्करीमा संलग्नले नयाँ उपाय लगाउँदै मटर धमाधम भारत कटाउने गरेको पाइएको डीएसपी राईले बताउनु भयो ।

प्रहरीले मटर बरामदमा सहयोग गरेको भनेर सशस्त्र प्रहरीलाई समेत समेटेर प्रतिवेदन तयार गर्दै आवश्यक कारबाहीका लागि आज विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । मटर बरामदमा लिने क्रममा पैठामा धेरै बेरसम्म तनाव भएको थियो ।

राति ९ बजे मटरको ट्रक नियन्त्रणमा लिइएको भए पनि लैजान नदिन स्थानीय बासिन्दा र तस्करको समूहले अवरोधको प्रयास गरेपछि झडप र तनावको स्थिति उत्पन्न भएको थियो ।

थप मद्धतका लागि नेपाल र सशस्त्रको टोली पुगेपछि मात्रै अवरोध छिचोल्दै राति १२ बजे प्रहरीले मटरको ट्रक पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिन सक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button