Tune to BFM 91.2|Biratnagar

तस्करी रोक्न प्रहरीले टाल्यो विराटनगर जुट मिल्सका झ्याल

विराटनगर, ५ कात्तिक । खुलेआम रुपमा तस्करी हुने गरेको पाइएपछि विराटनगर जुट मिल्समा झ्यालहरु प्रहरीले टालेको छ । महानगरपालिका–१६ स्थित जुट मिल्सको दक्षिण गेटमा रहेका संरचनाका खुला झ्यालहरु प्रहरीले काठ, तारजाली र काँटीको प्रयोग गर्दै टाल्दै बन्द गरिदिएको हो ।

जुट मिल्सको लाइन क्वार्टरमा अवास गृहका लागि बनेका लगभग ३५ वटा जीर्ण संरचनामा मिल्सका पुराना मजदुरहरु बसोबास गर्दै आएका छन् । यी संरचना नेपाल–भारत सीमा क्षेत्रको दशगजा छेउमै छन् । काठका पल्ला मक्काएर र तारजाली उक्किएर सबै कोठाको दक्षिणतर्फका झ्यालहरु खुला थिए । ह्वाङह्वाङती खुला रहेका झ्यालबाट निस्कने वित्तिकै भारत जोगवनीको टिकुलीया बस्ती पुगिन्छ । खुला रहेका झ्यालबाट सहज रुपमा नेपाल–भारत आउजाउ गर्नसक्ने अवस्थाको फाइदा उठाउँदै सामानको अवैध ओसारपसार हुने गरेको प्रहरीले फेला पारेको छ ।

तस्करीमा संलग्नले झ्यालबाट नेपाल–भारत गर्दै तस्करी चलाउने गरेको पाइएपछि बन्द गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताउनु भयो । उहाँका अनुसार दुई नम्बरी धन्दा चलाउनेले सहज रुपमा आवतजावत गर्दै तस्करी गरिरहेको पाइएपछि झ्यालहरु बन्द गरिएको हो ।

मोरङ प्रहरीले तस्करी, लागुऔषध, साना हतियार एवं अवैध गतिविधी र सीमा अपराध नियन्त्रण गर्न नेपाल–भारत सीमा क्षेत्रमा विशेष ढंगको ‘स्वीप अप्रेशन’ चलाएको छ । कोरोनाका कारण नाका सिल गरेरै नेपाल–भारत आउजाउ बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button