Tune to BFM 91.2|Biratnagar

तालाबन्दी गरेर विश्वविद्यालय बलियो बन्दैन : मन्त्री कार्की

विराटनगर, १९ पुस । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकासमन्त्री हिक्मतकुमार कार्कीले तालाबन्दी गरेर विश्वविद्यालय बलियो नबन्ने बताउनु भएको छ ।

आज पूर्वाञ्चल विश्वविद्यालयको २७ औं बार्षिकोत्सव समारोहका अवसरमा बोल्दै मन्त्री कार्कीले विभिन्न बहाना बनाएर विश्वविद्यालयलाई आन्दोलनको थलो बनाउने र तालाबन्दी गरेरमात्रै समस्याको समाधान खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

मन्त्री कार्कीले प्राज्ञिक क्षेत्रको थलो मै तालाबन्दी भइरहने कुराले विश्वविद्यालयको साख घटाएको भन्दै कुनैपनि समस्याको समाधान वार्ता र सम्वादबाट गर्न सुझाव दिनुभयो । विश्वविद्यालयभित्रको आन्तरिक खिचातानी र स्वार्थ समुहका कारण २७ बर्षसम्म पनि उचित विकास हुन नसकेको उनले गुनासो गरे । मन्त्री कार्कीले विश्वविद्यालयभित्र राजनीतिलाई जबरजस्ती प्रवेश गराउने कार्य रोकिए सहि दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयोे ।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले सवैको साथ सहयोगबाट विश्वविद्यालय आफ्नै थलोमा फर्किएको भन्दै खुसी व्यक्त गर्नुभयोे । उहाँले आफ्नो कार्यकालभरीमा कुनैपनि पक्षबाट विश्वविद्यालयमा तालाबन्दी गर्ने कार्य नहुनेमा विश्वस्त हुन पनि आग्रह गर्नुभयोे । बार्षिकोत्सव समारोहका अध्यक्ष एवं विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले विश्वविद्यालयलाई राजनीतिक भन्दा प्राज्ञिक थलोका रुपमा मात्रै आफुले हेरेको बताउनुभयो । बार्षिकोत्सवका अवसरमा राष्ट्रियसभा सदस्य गोपी अछामी, प्रथम परीक्षा नियन्त्रक कविराज न्यौपाने, स्कुल आफ हेल्थ साइन्सकी क्याम्पस प्रमुख कविता अधिकारी, परीक्षा नियन्त्रक प्राडा सुर्यप्रसाद संग्रौला, प्राध्यापक संघका सभापति डा.सन्देशदास श्रेष्ठ, कर्मचारी संघका सभापति राजकुमार सापकोटा लगायतले शुभकामना दिनु भएको थियो ।

बार्षिकोत्सवको अवसरमा विश्वविद्यालयका सहप्राध्यापक तथा प्रथम परीक्षा नियन्त्रक कविराज न्यौपानेलाई दोसल्ला र सम्मान पत्रका साथ विशेष सम्मान गरिएको थियो । विश्वविद्यालयमा २० बर्षे सेवा अवधि पुरा गरेका प्राडा पवनकुमार झा, सहप्राध्यापक रामप्रसाद ढकाल, मुख्य अधिकृत जनकमणि तिम्सिना, अधिकृत पर्वतराज न्यौपाने, मुख्य सहायक निरोद सुवेदी र मुख्य कार्यालय सहयोगी कोपिला खड्कालाई सम्मानित गरिएको थियो ।

सोही अवसरमा विश्वविद्यालयका विभिन्न कार्यालय र विभागमा रहेर उत्कृष्ठ काम गर्ने १९ जना कर्मचारी तथा प्राध्यापकहरुलाई उत्कृष्ठ सेवा पदक प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button