Tune to BFM 91.2|Biratnagar

तिहारको चहलपहलसँगै प्रदेश १ को सुरक्षा व्यवस्था कडा

विराटनगर, २८ कात्तिक । तिहारको विशेष चहलपहल सुरु भएसँगै प्रदेश १ मा अपराधिक गतिविधीमा संलग्न हुनसक्ने शंकास्पद व्यक्तिहरुमाथि प्रहरीले निगरानी बढाएको छ । प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले तिहारलाई लक्षित गरेर प्रदेशको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनु भयो ।

प्रदेशका १४ वटै जिल्लाको सुरक्षा अवस्था मजवुत बनाएर लगिएको उहाँले बताउनु भयो । ठूलो संख्यामा प्रहरी परिचालन गर्दै शंकास्पद ठाउँहरुमा निगरानी बढाउने, गलत गर्न खोज्नेलाई नियन्त्रणमा लिने तथा सार्वजनिक स्थलदेखि लिएर सबै ठाउँमा २४ घण्टानै सुरक्षा प्रदान गर्ने काम थालिएको कार्कीको भनाइ छ । उहाँले अपराध गरेर फाइदा उठाउने मनसाय राख्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइने बताउनु भयो ।

डीआईजी कार्कीले कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेका बेला सबैले सुरक्षित ढंगले र संक्रमण हुन नदिने हिसाबले स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै तिहार मनाउनुु पर्नेमा जोड दिनु भयो । उहाँले गलत कार्य गर्न खोज्ने शंकास्पद व्यक्तिहरुका बारेमा तत्काल प्रहरीलाई जानकारी दिन प्रदेशका बासिन्दालाई आग्रह गर्नु भएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कुुनै पनि अपराधिक गतिविधी हुन नदिने हिसाबमा सुरक्षा व्यवस्था मिलाइएको बताउनु भयो ।

शंकास्पद गतिविधी गर्ने, चोरी, लुटपाट, डकैती लगायतका अपराध गर्न खोज्ने, मापसे (मादक पदार्थ सेवन) गरेर होहल्ला एवं शान्ति सुरक्षाको अवस्था भड्काउन खोज्ने तथा शंकास्पद गतिविधी गर्नेमाथि विशेष ढंगले निगरानी बढाइएको जानकारी उहाँले दिनु भयो । तिहारका बेला विशेष गरेर चोरी डकैतीका घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको एसपी खड्काले बताउनु भयो ।

किनमेल बढी हुने पसल, भीडभाड हुने स्थान, आर्थिक गतिविधी धेरै हुने ठाउँदेखि लिएर महत्वपूर्ण प्रतिष्ठानहरु तथा सार्वजनिक स्थलमा प्रहरी उपस्थिति बढाइएको छ । सार्वजनिक स्थल र पसलहरुमा २४ घण्टानै प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको छ ।

त्यस्तै होटल, मदिरा पसल एवं सार्वजनिक सवारी साधन चेकजाँचलाई प्रहरीले तीव्र पारेको छ । जसरी भए पनि तिहार लगायतका चाडपर्व सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उदेश्य रहेको उहाँले स्पष्ट पार्नु भयो । कोरोना संक्रमण तीव्र रुपमा बढिरहेका बेला मनाउनुपर्ने तिहारलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने प्रहरीको योजना छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ठाउँठाउँमा सादा पोशाक र हतियारसहितका प्रहरीको विशेष टोली परिचालन गरिएको खड्काले बताउनु भयो ।

प्रहरीको पिकेट, मोबाइल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था मिलाउन थालेको छ । त्यस्तै जुवा, तास लगायत गैह्र कानुनी खेलहरु र शान्ति भड्काउनेसमूहलाई पूर्ण रुपमा नियन्त्रणमा लिइने नीति प्रहरीले बनाएको छ । एसपी खड्काका अनुसार उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, लोकमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षा अवस्थामा कुनै कमी आउन नदिने प्रहरीको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button