Tune to BFM 91.2|Biratnagar

तीनवटा ट्रकसहित ६७ वटा गोरु नियन्त्रणमा

विराटनगर, २७ माघ । तीनवटा ट्रकमा लोड गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले मोरङबाट ६७ वटा गोरु आज नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाका अनुसार ना ६ ख ६१३२, ना ६ ख ९७३४ र ना ५ ख ७७५७ नम्बरका ट्रकमा लोड गरिएको अवस्थामा गोरु नियन्त्रणमा लिइएको हो ।

गोरु र ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको उहाँले बताउनु भयो । उहाँका अनुसार गोरु सिन्धुपाल्चोक घर भएका विश्व बस्नेतको भएको खुलेको छ । घटना अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचाको बाँसबारी हुँदै ट्रकमा लोड गरिएका गोरु झापाको दमकतिर लगिँदै थियो । व्यवसाय गर्दाको पैसा बस्नेतले आफूहरुलाई नदिएकोभन्दै मोरङको केराबारी गाउँपालिका–८ का डोरबहादुर विक लगायतले राजमार्गबाट गोरु लोड गरिएको ट्रक रोकेका थिए ।

त्यसपछि केराबारी–५ सत्तिसाले पुर्याइएको ट्रकसहितका गोरु प्रहरीले बिहान ७ बजेतिर नियन्त्रणमा लिएको हो । प्रहरीले भने तस्करी गरेर गोरु लगिएको हुनसक्ने आशंका गरेको छ । नेपालबाट कागजपत्र मिलाएर गोरु झापाका सीमावर्ती नाका हुँदै भारततिर कटाउने गरिएको पाइएको प्रहरीको भनाइ छ । प्रहरीले नियन्त्रणमा लिँदा ट्रकका चालकहरुले सर्लाहीको लालबन्दीबाट गोरु लिएर आएको बताएका थिए ।

तर प्राप्त कागजपत्रबाट मोरङको विराटचोकको दृष्टि आरम्भ बहुउदेश्यीय बाख्रा फार्मले झापाको दमकस्थित हेमा खरिदबिक्री फार्मलाई गोरु बिक्री गरेको देखिएको राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृत रमेश ओझाले बताउनु भयो । उहाँले प्रक्रिया पुर्याएर गोरु लगिएको हो या नपुर्याइकन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको बताउनु भयो । यस घटनाबाट आवश्यक कागजपत्र मिलाएर सबै पक्षसँग ‘सेटिङ’ मिलाउँदै गोरु तस्करी भइरहेको प्रष्ट हुने स्रोतले बतायो ।

राजस्व इटहरीका प्रमुख दीपक खड्काले अनुसन्धानबाट गोरुको तस्करी भएको पुष्टि भएमा त्यसमा संलग्नलाई कारबाही हुने बताउनु भयो । गोरु खरिदबिक्रीदेखि लिएर सबै विषयमा अनुसन्धान थालिएकाले वास्तविकता बाहिर आउन केही समय लाग्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button