Tune to BFM 91.2|Biratnagar

यातायात कार्यालय कोशीका प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विराटनगर, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । संकलित राजस्व हिनामिना आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

आर्थिक वर्ष २०७३/०७४ को २०७३ चैतदेखि २०७४ असारसम्मको संकलित राजस्व दाखिला नगरेको अभियोग अख्तियारको छ । अख्तियारले नेपालविरुद्ध एक करोड आठ लाख २९ हजार ६९ रुपैयाँ बिगो कायम गरेको छ ।

यस्तै तत्कालीन कार्यालय प्रमुख तीर्थराज लम्सालविरुद्ध तीन करोड ३० लाख ७९ हजार ३७३ रुपैयाँ बिगो कायम गरेको छ। तत्कालीन कार्यालय प्रमुख गोपाल थपलियाविरुद्ध अख्तियारले एक करोड ३० लाख ७२ हजार १५३ रुपैयाँ बिगो कायम गरेको छ। अर्का तत्कालीन कार्यालय प्रमुख भूपेन्द्र राईसँग ५६ लाख १२ हजार ५४७ रुपैयाँ बिगो अख्तियारले कायम गरेको छ ।

अभियोगपत्र अनुसार तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारीसँग एक करोड २५ लाख ४८ हजार ६ रुपैयाँ बिगो माग गरिएको छ। तत्कालीन लेखापाल सुरेश अधिकारीलाई तीन करोड ७२ लाख ४४ हजार ७५५, तत्कालीन लेखापाल रुद्रप्रसाद दाहालसँग तीन करोड ४८ लाख ९३ हजार २१६, तत्कालीन लेखापाल अर्जुन भट्टराईसँग दुई करोड १७ लाख ३२ हजार ४७३ रुपैयाँ र तत्कालीन लेखापाल कृष्णप्रसाद कट्टेलसँग ७३ लाख ६२ हजार ५४५ रुपैयाँ बिगो कायम गरिएको छ ।

यस्तै कम्प्युटर अपरेटर सुजन राई २२ लाख ४४ हजार ३३६, कम्प्युटर अपरेटरहरु राकेश रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी र हरिमदन ढुङ्गेलसँग जनही पाँच करोड ९४ लाख ९८ हजार ९३१ रुपैयाँ बिगो माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button