Tune to BFM 91.2|Biratnagar

तीन सय चार जना जोगवनीबाट नेपाल भित्रिए

विराटनगर, १४ जेठ । भारतबाट जोगवनी नाका हँुदै तीन सय चार जना विराटनगर भित्रिएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भारतका विभिन्न स्थानमा रहेर मजदुरी तथा आआफ्ना पेसा व्यवसाय सञ्चालन गर्दै आएकाहरु नेपाल भित्रिएको जानकारी दिनु भयो ।

भित्रिएका एक सय ९५ जना पुरुष र एक सय नौ जना महिला मध्ये ५० जना १८ वर्ष मुनीका छन् । उनीहरुलाई उद्धार गर्न प्रजिअ भुजेल, मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायत नाकामै पुग्नु भएको थियो ।

नेपाल भित्रिएकाहरुलाई विराटनगर महानगरपालिका–१३ स्थित डीएभी स्कुलमा बनाइएको ‘होल्डिङ स्टेशन’मा ल्याएर राखिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताउनु भयो ।

उनीहरुलाई ‘होल्डिङ स्टेशन’सम्म ल्याउन बसको व्यवस्था गरिएको थियो । बसमा चढाउनु अघि स्वास्थ्यकर्मीले सबै जनाको प्राथमिक स्वास्थ्य परीक्षण गरेका थिए । ‘भारतीय पक्षले नेपाल आएका मध्ये केहीलाई आफ्नो क्वारेन्टाइनबाट नेपालस्थित प्रशासनको जिम्मा लगाएको हो,’ प्रजिअ भुजेलले भन्नु भयो, ‘कोही भने धेरै दिनदेखि पैदल यात्रा गर्दै र साइकल चढ्दै नाकासम्म आइपुगेको पाइयो ।’

सीमाबाट भित्रिएपछि उद्धार गरिएका मध्ये २३ जनालाई सुनसरीको दुहवी नगरपालिकाको जिम्मा लगाइएको छ । भित्रिएका मध्ये धेरै जसो झापा, मोरङ र सुनसरीका र केही पश्चिम नेपालका पनि रहेको नेपाल प्रहरीले जनाएको छ । उद्धार गरेर ‘होल्डिङ स्टेशन’मा राखिएकाहरुलाई क्वारेन्टाइनमा राख्ने गरी आआफ्नो जिल्लास्थित स्थानीय तहको जिम्मा लगाइने प्रजिअ भुजेलले बताए ।

कोरोना संक्रमण दर उच्च रहेको भारतबाट भित्रिएका कारण दुई सातासम्म क्वारेन्टाइनमा राखेर परीक्षण गर्दै उनीहरुमा कोरोना संक्रमण भएनभएको पत्ता लगाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button