Tune to BFM 91.2|Biratnagar

थप चार संक्रमितको विराटनगरमा मृत्यु

विराटनगर, २४ कात्तिक । विराटनगरमा रहेका बिभिन्न कोभिड अस्तपालको आइसोलेसनमा उपचाररत कोरोना भाइरस संक्रमित ७ जनाको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा दुई, विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा एक र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जनाको ज्यान गएको हो ।

मोरङको रतुवामाई नगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा कोशीमा मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार आज बिहान ६ः४५ बजेतिर उनको मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा कात्तिक १८ गते रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बस्नेतले बताउनु भयो । मृतकमा श्वासप्रश्वासको समस्या देखिएको उहाँको भनाइ छ ।

नोबेलमा दुई संक्रमितको मृत्यु भएको छ । इलाम मंगलबारेका ६५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनु भयो । उहाँका अुनसार मधुमेह र फोक्सो सम्बन्धी समस्या रहेका वृद्ध पुरुषलाई कात्तिक १७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको दाहालले बताउनु भयो । उहाँका अनुसार सुनसरी इनरुवाका अर्का ७२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको छ । मृत्यु आजबिहान ३ बजेतिर भएको दाहालले बताउनु भयो ।

उहाँका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १७ गते अस्पतालमा भर्ना गरिएका पुरुषको सोहीदिन पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि आईसीयूमा राखेर उपचार थालिए पनि बचाउन नसकिएको दाहालले बताउनु भयो । त्यस्तै विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा सुनसरी इनरुवा–४ का ५७ वर्षीय पुरुषको गय राति ८ः४० बजेतिर मृत्यु भएको छ ।

अस्पतालका प्रशासन प्रमुख पदम विनाडीका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक २२ गते शनिबार अस्पताल भर्ना गरिएको थियो । योसँगै पछिल्लो १६ घण्टाभित्र विराटनगरसहित मोरङका विभिन्न कोभिड अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या सात पुगेको छ ।

आज बिहान उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल, झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल र गय राति सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button