Tune to BFM 91.2|Biratnagar

दमकको उत्तरी क्षेत्र र भुटानी शिविर सिल

विराटनगर, १३ वैशाख । झापामा एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि दमकको उत्तरी क्षेत्र सिल गरिएको छ । दमक नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरीलगायतको गएराति बसेको आकस्मिक बैठकले उत्तरी क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

दमक ३ का ६२ बर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । सो वडाका स्थानीयबासीमा कोरोना संक्रमण परीक्षणलाई तीव्र पार्नुका लागि निश्चित क्षेत्र तोकेर सिल गरेको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार नगरपालिकाको उत्तरमा मावा पुलदेखि बेलडाँगी १ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्गसम्म, पूर्वमा हिमालय माविदेखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोलासम्मको क्षेत्रमा आवतजावतलगायत सम्पूर्ण गतिविधि पूर्णरुपमा निषेध गरिएको छ ।

सो क्षेत्रका स्थानीयमा कोरोनाको एन्टिबडी परीक्षणका लागि नगरपालिकाले प्रदेश सरकारसंग र्यापिड डायग्नोष्टिक टेस्ट(आरडीटी) किट माग गरेको दमक नगरपालिकाले जनाएको छ । नगरपालिका र स्थानीय प्रशासनले दमकको उत्तरी क्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरलाई पनि सिल गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकका डीएसपी विजयराज पण्डितले भुटानी शिविरमा आवतजावत पूर्णरुपमा निषेध गरेको जानकारी दिनुभयो । शिविरमा करीब ५ हजार भुटानी शरणार्थी बसोबास गर्दै आएका छन् ।

नगरपालिकाभित्र ४१ जना क्वारेन्टिनमा छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button