Tune to BFM 91.2|Biratnagar

दलित बालिका कुट्ने छोरा पक्राउ, बाबुआमा फरार

विराटनगर, २४ भदौ । दलित बालिका कुटपिटमा संलग्न मोरङको उर्लाबारी नगरपालिका–४ थापाडाँगीका २३ वर्षीय अमीर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

कुटपिटमा संलग्न उनका बुवा ६० वर्षीय नन्दलाल श्रेष्ठ र आमा ४७ वर्षीय निर्मला श्रेष्ठ फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ । आफ्नो घरमा पसेकोभन्दै छिमेकी १२ वर्षीया बालिका फूलसरी मग्राती (सार्की)माथि गत सोमबार बिहान कुटपिट गरेको घटना बाहिरिएपछि प्रहरीले अमीरलाई पक्राउ गरेको हो ।

अमीरसहित बाबुआमा सबै मिलेर बालिकामाथि निर्घात कुटपिट गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो । बालिकाकी आफन्त दुर्गाकुमारी रोकाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान र कारबाही अघि बढाएको एसपी खड्काले बताउनु भयो ।

दुर्गाकुमारीका अनुसार ६ वर्षीया नातिनीलाई लडेर चोट लागेपछि घाउ सेक्नलाई फ्रिजमा आइस जमेको पानी लिन फूलसरी श्रेष्ठको घरमा छिरेकी थिइन् । कुटपिट भएको थाहा पाएर छुट्याउन जाँदा आफूलाई लछारपछार गरिएको उहाँले बताउनु भयो ।

कुटपिटबाट घाइते भएकी बालिकाको उपचार र स्वास्थ्य परीक्षण उर्लाबारीकै मंगलबारे अस्पतालमा भएको छ । प्रहरीले कुटपिटमा संलग्नविरुद्ध जातिय छुवाछुत ऐन अन्तर्गत कारबाही अघि बढाउन घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका अमीरले छिमेकीसँग सधैं आउजाउ हुने गरेको र जातिय हिसाबमा कहिल्यै पनि विभेद नगरिएको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button