दशगजामा भारतीयका घर

0
133

विराटनगर, २७ कात्तिक । नेपाल र भारतबीच सीमा विवाद चर्किएका बेला मोरङको रतुवामाई र सुनवर्षी नगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजा मिचेर भारतीयले घर लगायतका संरचना बनाइरहेका छन् । हालसम्म रतुवामाई –१ सोनापुर र सुनवर्षी –८ सिक्टीमा दशगजा अक्रिमण गरेर भारतीयले एक सय १३ वटा घर बनाइसकेको रेकर्ड सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीसँग छ । जस मध्ये सोनापुरमा ३८ र सिक्टीमा ७५ वटा घर छन् । दशगजामा बस्ती विस्तार गर्ने क्रम तीव्र भए पनि रोक्न भने सकिएको छैन । सशस्त्र र नेपाल प्रहरी तथा स्थानीयले दशगजा अतिक्रमण गरेर घर लगायतका संरचना निर्माण नगर्न पटक–पटक आग्रह गरे पनि सुनुवाई भएको छैन । भारतीय सीमा सुरक्षा सुरक्षा वल (एसएसबी)को आडमा भारतीयले धमाधम संरचना बनाएर दशगजामा बसोबास गर्न थालेको स्थानीयले बताए । सिक्टीका स्थानीय मोहम्मद राजाले सीमाका दुईवटा जंगे र दुईवटा मझौला पिलर भारतीयले विस्तार गरेको घना बस्ती भित्र पर्ने जानकारी दिनु भयो । भारतीयको पछिल्लो गतिविधी हेर्दा दशगजासँगै नेपाली भूमि अतिक्रमणको योजना बुनेर अघि बढेको प्रष्ट हुने उहाँको भनाइ छ । भारतीयले दशगजा मिच्दै घर बनाएर बस्ती विस्तार गर्ने, खन्ने, बालीनाली र तरकारी लगाउने, माटो खनेर ठूला खाल्टा बनाइदिने, आँगन पुर्ने, घर बनाउने, बारबेरा गर्ने लगायतका काम गरिरहेको रतुवामाई –१ का अध्यक्ष हरि गिरीले बताउनु भयो । ‘दुई देशीय सीमानामा बस्ती बसाउनु कूटनीतिक मर्यादा विपरित हो,’ वडा अध्यक्ष गिरीले भन्नु भयो, ‘धेरै सम्झाई बुझाई गरे पनि भारतीयले नमान्दा अतिक्रमणकै कारण दशगजा गहिरिएर गइरहेको छ ।’ सुनवर्षी–८ का वडा अध्यक्ष नुरुल मियाँले दलबलसहित भारतीयहरु एकजुट भएर बस्ती विस्तारमा लाग्ने गरेका कारण स्थानीयले खुलेर त्यसको विरोध गर्ने र बोल्न सक्ने अवस्था नरहने बताउनु भयो । नेपाली नागरिकले विरोध गर्दा एसएसबीको आडमा भारतीयले प्रतिकार गर्ने गरेको गुनासो स्थानीयको छ । सशस्त्रको बोर्डर आउट पोस्ट बरडंगाका इन्सपेक्टर झपिन्द्र बानियाले दशगजाको अतिक्रमण हटाउन एसएसबीसँग समन्वय गर्ने काम भइरहेको बताउनु भयो । मिचिएको दशगजा अबको छ महिना भित्रमा खाली गर्नु पर्ने अडानमा आफूहरु रहेको उहाँको भनाइ छ । इन्सपेक्टर बानियाले यस अघि एसएसबीले भारतीयलाई संरचना निर्माण गर्न सहयोग गरेको बताइए पनि पछिल्लो समय एसएसबी समेत दशगजाको बस्ती जति सक्दो चाँडो हटाउँदै राम्रो हुने निस्कर्षमा पुगेको जानकारी दिनु भयो । मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी अजुन भण्डारीले अतिक्रमण हटाउन सुरक्षाकर्मी नै परिचालन गर्ने सवालमा भारतीय अधिकारीसँग तत्काल कुरा चलाइने बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here