Tune to BFM 91.2|Biratnagar

दुर्घटनामा दुई जनाको मृत्यु, टिपरमा तोडफोड

विराटनगर, ९ चैत । मोरङको बेग्लाबेग्लै ठाउँमा गय राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । भित्री सडक खण्डअन्तर्गत कटहरी गाउँपालिका–३ मा टिपरले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका एक जनाले ज्यान गएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा कटहरी–२ का ३७ वर्षीय बच्चु मल्लिकको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उपचारका लागि कोसी अस्पताल विराटनगर पुर्याउनसाथ मल्लिकको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनु भयो ।

टिपर चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१४ का २८ वर्षीय मुकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिमा रहेको टिपरले दुर्घटना गराएपछि स्थानीय बासिन्दा आक्रोसित बनेका थिए । घटनापछि ढुङ्गामुडा गर्दै आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाले टिपरमा तोडफोड गरिदिएका छन् । आक्रोसित भीडले तोडफोड गर्दा टिपरको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले टिपर चालकलाई भने आक्रमण हुनबाट बचायो । त्यस्तै सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको ज्यान गएको छ ।

पूर्व–पश्चिम लोकमार्गमा पूर्वतर्फ जाँदै गरेको को १८ प १८०२ नम्बरको मोटरसाइकलले राति १० बजेतिर ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका सुन्दरहरैँचा–६ का ५६ वर्षीय इन्द्रबहादुर श्रेष्ठको मृत्यु भएको डीएसपी राईले बताउनु भयो । दुर्घटनापछि गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक इटहरी–५ का २६ वर्षीय सेवन्तमणि कोइराला पनि गम्भीर घाइते भएका छन् । उनको नोबलेमै उपचार भइरहेको छ । प्रहरीले मोटरसाइकललाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button