दुर्घटनामा दुई महिलाको मृत्यु

0
208

विराटनगर, २६ भदौ । मोरङको कानेपोखरी गाउँपालिका र विराटनगर महानगरपालिकामा आज भएको सवारी दुर्घटनामा परेर दुई महिलाको मृत्यु भएको छ । दुर्घटनामा परेर छ जना घाइते भएका छन् । कोसी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका ९ मा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार रंगेली नगरपालिका ७ की ३० वर्षीय आँसु अग्रवालको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बताउनु भयो । विराटनगरको बरगाछीतिरबाट तीव्र गतिमा भारतको जोगवनीतर्फ जाँदै गरेको एच आर ५५ एल १४१९ नम्बरको ट्रकले करेजरोड तिरबाट निस्कँदै गरेको को ५ प ३२०० नम्बरको मोटरसाइकललाई विहान ११ बजे ठक्कर दिंदा भएको दुर्घटनामा परेर अग्रवालको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक आँसुका पति ३८ वर्षीय मनोज अग्रवाल र छोरी ७ वर्षीय अनिषा अग्रवाल गम्भीर घाइते भएका छन् । दुबै जनाको सप्तकोसी नर्सिङ होममा उपचार भइरहेको छ । ट्रक र चालक भारत अलिगढका ३० वर्षीय कमल सिंहलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका ७ मा भएको दुर्घटनामा परेर सुनसरीको धरान उपमहानगरपालिका १ की ५५ वर्षीय ललिता अग्रवालको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते अग्रवालको उपचारका क्रममा पथरी हस्पिटलमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईका अनुसार दुर्घटनामा परेर धरान १ का ८१ वर्षीय विश्वनाथ अग्रवाल, चितवनको भरतपुर महानगरपालिका १ का ३२ वर्षीय अनिल अग्रवाल, उनकी पत्नी ३० वर्षीय गीता अग्रवाल र छोरा ९ वर्षीय बरुण अग्रवाल घाइते भएका छन् । घाइते मध्ये विश्वनाथ र अनिलको अवस्था गम्भीर छ । उपचारका लागि घाइते मध्येका विश्वनाथलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अन्यलाई विराटनगरको न्युरो अस्पताल पठाइएको जानकारी बजगाईले दिए । प्रहरीका अनुसार अग्रवाल परिवार बा १९ च ६१२२ नम्बरको कारमा पारिवारिक कामको सिलसिलामा भारतको सिलिगुडी हिंडेको थियो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६४३५ नम्बरको न्यू साकुरा यातायातको यात्रुबहाक बसलाई ‘ओभरटेक’ गर्ने क्रममा सोही बसमा ठोक्किएर अनिल अग्रवालले चलाएको कार सडकबाट तलखसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस र चालक सुनसरीको इटहरी उपमहानगरपालिका २ का ३५ वर्षीय राजेन्द्र फूयाँललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here