Tune to BFM 91.2|Biratnagar

दुर्घटना हुने सवारीमा मोटरसाइकल धेरै

विराटनगर, ११ फागुन । प्रदेश १ मा अन्य सवारी साधनको तुलनामा बढी दुर्घटनामा पर्ने र मानविय एवं भौतिक क्षति धेरै हुनेमा मोटरसाइकल अग्रस्थानमा रहेको पाइएको छ । बढी ट्राफिक नियम उल्लंघन पनि मोटरसाइकलबाटै हुने गरेको छ । प्रदेश १ मा चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा भएका आठ सय ५८ वटा सवारी दुर्घटनामा एक हजार दुई सय ४३ वटा सवारी साधन परेका छन् ।

दुर्घटनामा दुई सय २२ जनाको मृत्यु भएको छ । जसमा पाँच सय ६३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यो समग्र दुर्घटनाको ४५ प्रतिशत हो । आर्थिक वर्षको हालसम्म भएका मोटरसाइकल दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । कार, जीप लगायतका एक सय ७५ वटा निजी सवारी साधन दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ ।

एक सय १४ वटा सार्वजनिक यात्रुबहाक बस दुर्घटनामा ३२ र एक सय छ वटा ट्रक, ट्यांकर र टिपर दुर्घटनामा २५ जनाको मृत्यु भएको छ । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहाल नियमको पालना नगरिकन लापरबाहीपूर्ण तरिकाले चलाइने गरेका कारण मोटरसाइकल बढी दुर्घटनामा पर्ने गरेको बताउनु हुन्छ ।

मापसे (मादक पदार्थ सेवन) गरेर चलाउने, हेल्मेट नलगाउने र त्यसको क्लिप नबाँध्ने, दुई जना भन्दा बढी चढ्ने, तीव्र गतिमा हाँक्ने लगायतका नियम उल्लंघन गरेर मोटरसाइकल चलाउने गरिएको उहाँको भनाइ छ । सवारी चालकलाई विभिन्न कार्यक्रममार्फत सचेत गरिए पनि नियम पालनामा चुक्दा र अटेरी गर्दा दुर्घटना धेरै हुने गरेको उहाँले बताउनु भयो ।

सवारी चालकमा नियम सुरक्षाका लागि भएकाले पालना गर्नु पर्छ भन्ने मनोभावना जागृत नहुनु दुर्घटना न्यूनीकरण अभियानको मुख्य बाधक रहेको दाहालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button